-अर्जुन तिम्सिना
बजारमा दैनिक चमक थपिने क्रम जारी छ । बजारको चमकसँगै लगानीकर्ताको मुहारमा पनि खुशीको बहार छाउन थालेको देखिएको छ ।  गत हप्ता सामान्य उतारचढावमा रुमल्लिएको बजार बजारले यो हप्ता सुखद सुरुवात गरेको छ । हप्ताको सुरुमानै एकैदिन दुई  अर्ब भन्दा बढीको कारोबार हुनु र दोस्रो कारोबार पनि डेढ अर्ब भन्दा बढीले हुनुले यो हप्ता पनि बजारमा हरियाली छाउने पक्का छ ।

समय र ऋतुको हिसाबले ग्रिस्मकालिन भए पनि शेयर बजारमा हामी  लगानीकर्ताका लागि यो बसन्त ऋतु नै हो किनकि नयाँ अंग्रेजी बर्षसंगै अपवादमा बाहेक बजारमा हरियाली नै हरियाली  छाएको छ ।

शेयर बजारका बादशाह वारेन बफेटले भनेका छन्–‘शेयेर बजारमा कोही पनि भगवान होइन, तर शेयर बजार लगानीकर्ताका लागि भगवान नै हो, यसले त्यसलाई सहयोग गर्छ जसले बजारलाई सहयोग गर्छ।’ यसको छोटो अर्थ हो–तपाइले शेयर बजारमा अहिले लगानी गर्नु भयो भने मात्र प्रतिफलको भागिदार बन्न पाउनुहुन्छ । 

आखिर शेयर बजारम किन यसरी चमक आएको छ त ? बजारले नयाँ नयाँ रेकर्ड र उचाई छुने के  कति कारणले संभव छ त ? यो विषयमा केहीबेर बहस गरौं । 

१.भारतीय बजेटको असरः नेपाल र भारत खुला सिमाना संगै खुला अर्थतन्त्र  बोकेका देश हुन् । नेपालको अर्थतन्त्र र विनिमय दर दुवै भारत निर्भर छ । नेपाको लगानीमा भारतीय मारवाडी समुदायको ठूलै लगानी देखिन्छ, चाहे त्यो आयात निर्यातमा होस् वा शेयर बजारमा होस् । होटेलदेखि हाइड्रो, बैकिङ्ग क्षेत्रमा  उनीहरुले लगानी गरेकै हुन्छन । जब भारतीय बजेट त्यहाँको शेयरबजार मैत्री नभइसकेपछि  मारवाडी समुदाय जो नेपाल भारत दुवै तिर लगानी गर्छन, उनीहरु नेपाली बजारमा आकर्षित भएको बलियो आधार छन् । जस्तो नेपालको  मात्र पुँजीले दैनिक ५० करोडभन्दा बढी कारोबार कमै हुन्छ । कुनै बेला राम्रो प्रतिफल लिएर निस्किएकाहरु अहिले बजार घटेर तल्लो बिन्दूमा पुगेको  र अर्थमन्त्री  शेयर बजारप्रति केही नरम भएको मौका छोपी पसेका हुनसक्छन् ।

२.नेपालको औद्योगिक वातावरण: नेपालका ठूला औद्योगिक लगानीकर्ताले पटक–पटक प्रधानमन्त्रीलाई भेटेर लगानीको वातावरण बनाइदिन गरेको आग्रहले के कुरा प्रस्ट हुन्छ भने नेपालमा औद्योगिक वातावरण बनिसकेको छैन । एकदुर्इ सिमेन्ट कारखानामा बाहेक ठूलो पूँजी नेपाल नआएकोले औद्योगिक वातावरण नबनेको अवस्थामा नेपाली लगानीकर्ताको त्यो पैसा शेयर बजारतिर आएको हुनसक्छ । 

३.घर तथा अटो लोनमा कडाई र ब्याजदर: नेपाल सरकारले केही समय पहिला घर तथा अटोलोनमा दिंदै आएको सीमामा कडाई गर्यो, फलस्वरुप बैंकमा तरलता थुप्रियो र ब्याजदर घट्ने अवस्था आयो । सस्तो र सहज रुपमा शेयर लोन पाएपछि शेयर लगानीकर्ता बजारप्रति आकर्षित भएका हुनसक्छन् । 

४.सरकारलाई कन्ट्री  क्रेडिट  रेटिङको आवश्यकता: अन्तरास्ट्रिय लगानीकर्ताहरुलाई  रिझाउन र बुझाउनका लागि पनि सरकारलाई नेप्से इन्डेक्स बढाउन जरुरी देखिन्छ । कन्ट्री क्रेडिट रेटिङ गर्दा नेप्से इन्डेक्सलार्ई पनि एउटा आधार मान्ने हुँदा नेप्सेको इन्डेक्स कम हुँदा नेपाल सरकारलाई अप्ठेरो पर्ने देखेर कम्तीमा पनि नेप्से इन्डेक्स अब १५–१६ सय हुनसक्ने सरकारले ठानेको हुनसक्छ । यहि कारणले पनि अर्थमन्त्रालयले पनि सेयर बजार बढाउन चाहेको देखिन्छ । 

५. कोरोना भाइरसले चिनको आयात  रोकिनु तथा  तातोपानी नाका बन्द हुनुः अघिल्लोपटक नेप्से इन्डेक्सले उच्च विन्दू छुँदा भारतीय नाकाबन्दीले आयात रोकिंदा शेयर बजारमा पैसा मोडिएको थियो र नेप्सेले  उच्च विन्दू चुमेको थियो। अहिले पनि चाइनाको आयात रोकिंदा आयात निर्यातको पैसा शेयर बजारतर्फ मोडिने सम्भावना देखिन्छ । दैनिक अर्बौको कारोबार हुनुमा यो पनि एउटा कारण हो ।

६.गो एमएल अथवा एन्टी मनि लाउण्डरिङ: सरकारले केही समय पहिला  बैंक तथा बित्तीय संस्थामा  गो एमएल लागू गर्यो, जसको उद्देश्य पैसाको स्रोत खोज्नु हो । यसको त्रासले पनि केही पैसा बजारमा आएको हुनसक्छ । 

७.अर्थमन्त्रीको सम्भावित बहिर्गमन: सरकारलाई ढिलो चाँडो अर्थमन्त्रालयमा जननिर्बाचित सदस्य ल्याउने दबाब बढ्दै छ ।त्यसो त पछिल्लो समय अर्थमन्त्रालय शेयरबजार प्रति  केही नरम देखिन्छ । मन्त्रालयमा जो आए पनि सरकारको नीति तथा कार्यक्रम  कार्यन्वयन गर्ने हो, तर शेयर बजार जहिले पनि  मनोविज्ञानमा चल्ने भएकोले जननिर्बाचित व्यक्ति केही न केही जनताप्रति बढी नै उत्तरदायी हुन्छ भन्ने विश्वासले बजारमा जरो गाडेको छ । जसको प्रभाब शेयर बजारमा पक्कै पर्छ।

पुनश्चः सेयर बजार जहिले पनि जोखिम र संभावना दुवै लिएर खुल्ने र बन्द हुने हुँदा लगानीकर्ताले आफ्नो आफ्नो बजार रणनीतिअनुसार चल्न आवश्यक देखिन्छ ।