काठमाण्डौ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीको सरकार गठन भएमा पुंजी बजार तहसनहस हुन्छ भन्ने भ्रम फैलाई नियोजित ढंगले शेयर बजार घटाउने काम भइरहेको बताएका छन् ।

ओलीले सरकार गठन लगत्तै पूँजीबजारमा नियोजित रुपमा फैलाइएको आतंक समाप्त गरी व्यवस्थित ढंगले बजारलाई अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

आफूलाई बधाइ दिन आएको स्टक ब्रोकर एशोसिएएसनको टोलीलाई संक्षिप्त सम्बोधन गर्दै ओलीले नयाँ सरकार बनेपछि आर्थिक संकटको समाधान हुने बचन दिए । 

‘वामपन्थीको सरकार आए देशै धरासायी हुन्छ भन्ने नियोजित हल्ला चलाएर शेयर बजारलाई पनि प्रभावित पार्न खोजिएको छ ।’ ओलीले भने–‘तर हाम्रो सरकार बनेपछि बजारमा देखिएको अहिलेसम्मको अस्तव्यस्तता स्वत अन्त्य हुनेछ ।’ 

ओलीले लगानीकर्तालाई त्रसित बनाएर आर्थिक रुपमा देशलाई कमजोर पार्न खोजिएको आरोप समेत लगाए । ओलीले ब्रोकरहरुलाई सम्झाउँदै भने–‘तपाईंहरु शेयर बजार गिरेको देखेर नआत्तिनुहोस । यो राष्ट्रिय पुँजी बजारको सवाल हो । केही तत्वहरुले यसलाई धूमिल बनाउन खोजेका छन् । त्यस्ता आतंक मच्चाउने तत्वको पहिचान हुन्छ ।’

यसैबीच, बधाई दिन आएको सञ्चारउद्यमीहरुको टोलीलाई अध्यक्ष ओलीले दलीय सहमतीबाट तयार गरिएको राष्ट्रिय सभा गठन सम्बन्धी प्रस्ताव सरकारले स्थानीय तहको निर्वाचन पछि संसदमा पेश नगरेको बताए । ‘नियतबश त्यो प्रस्ताव सरकारले बेला छउन्जेल अगाडि बढाएन अहिले आफ्नो अनुकुल बनाएर अध्यादेशको रुपमा राष्ट्रपतिकहँँ पु¥याएको छ ’ ओलीको भनाइ छ ‘राष्ट्रपतिलाई अकारण विवादमा तान्ने प्रयास स्वरुप यो भइरहेको छ । ’