– प्रकाश न्यौपाने
काठमाण्डौ । लामो समयपछि सेयर बजारमा हरियाली छाएको छ। बजारमा चमक आएसँगै लगानीकर्ताका मुहारमा पनि खुसियाली छाउन थालेको छ।
हरेक चोक–चोकमा, पत्रपत्रिकामा र सामाजिक सञ्जालमा बजारबारेमा निकै चर्चा भइरहेको पाइन्छ। करिब १४०० अंकको करेक्सन आएको बजार १५ महिनादेखि लगातार बजार घटिरहेको थियो।
आर्थिक संकट आएको भन्दै राष्ट्र बैंकले अर्थतन्त्र थप बिग्रिन नदिन कसिलो नीति–नियम ल्याउँदा बजारलाई निकै क्षति पुर्याएको थियो।
पछिल्लो समय सानो अंकले तल–माथि गरिरहेको बजार नयाँ सरकार बनेदेखि उकालो लाग्न थालेको छ। नयाँ सरकार गठन भएयताको ९ दिनको कारोबारमा बजार २७६ अंक बढेको छ भने तल्लो विन्दुबाट करिब १५ प्रतिशतले उकालो लागेको छ।
केही कम्पनीहरुको सेयरभाउ घटेको अन्तिम विन्दुबाट ५० प्रतिशतसम्म बढेको छ। घटेको बजारमा जोखिम लिएर स्वपुँजी लगानी गर्नेले राम्रै नाफा कमाउन सफल भएको बजार जानकारहरु बताउँछन्।
दिग्गज लगानीकर्ता वारेन वफेटको ‘अरु डराएको बेला आफूले लगानी गर्नसके बजारबाट मनग्य कमाउन सकिन्छ’ भन्ने सूत्र फलो गर्नेले यतिबेला राम्र्रै नाफा कमाएको देखिन्छ।
बजार जानकार नयन बास्तोला पनि नयाँ सरकारको पहिलो बैठकले सेयर बजारका बारेमा सम्बोधन गर्नुलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन्। ‘सरकारले अर्थतन्त्र सुधारका लागि सेयर बजारलाई चलायमान बनाएरमात्र सम्भव छ भनेर बुझेको छ’, उनले भने, ‘अब सरकार र राष्ट्र बैंक एउटै डुंगामा हिँड्नेछन्। त्यसपछि अर्थतन्त्र विस्तारै सुधार हुँदै जानेछ र हिजो कसिएका नीतिहरु खुकुलो हुँदै जान्छ।’
एकपछि अर्को सकारात्मक सूचनाहरु राष्ट्र बैंक आफैँले ल्याउने दाबी पनि बास्तोलाले गरे। ‘अब तरलताको समस्या पनि समाधान हँुदै जानेछ’, उनले भने, ‘ब्याजदर बढ्ने सम्भावना छैन, बरु अब घट्दै जानेछ।’
अब बैंकहरुले सेयर धितो कर्जा पनि सहज किसिमले प्रवाह गर्न सक्ने वातावरण बन्ने बास्तोलाले बताए। ‘सेयर धितो कर्जाको सीमा पनि हट्दै जानेछ’, उनले भने, ‘यी सबै कुरा सहज हुँदै जाँदा सेयर बजारले विस्तारै माथिल्लो विन्दु चुम्दै जानेछ। जुन पछिल्ला केही दिनको बजारले छनक देखाइसकेको छ।’
यतिबेला नबढेका बलिया राम्रा कम्पनीका सेयरमा लामो समयका लगानी गर्दा राम्रै प्रतिफल पाइने बास्तोलाको सुझाव छ। ‘यतिबेला राम्राभन्दा कमजोर कम्पनी अलि बढी बढेको देखिन्छ’, उनले भने, ‘तर, कालान्तरमा अहिले नबढेका राम्रा कम्पनी, लाभांश इतिहास राम्रो भएका कम्पनी र अब पनि राम्रो लाभांश दिनसक्ने क्षमता भएका कम्पनीको सेयरमा अध्ययन गरेर लगानी गर्दा उचित हुन्छ।’
बढेको बजारमा लगानी गर्दा कमजोर र बढिसकेका कम्पनीमा लगानी गर्नु जोखिम बढी हुने बास्तोला बताउँछन्। ‘त्यस्ता कम्पनी बजार घटेको बेला छोटो समयका लागिमात्र खरिद गर्दा नाफा बुक गर्नसके राम्रै कमाउन सकिन्छ’, उनले भने।
बजार जानकार वैकुण्ठ पौडेल नयाँ सरकार र अर्थमन्त्री अर्थतन्त्र सुधारको पक्षमा देखिएकोले पुँजीबजार पनि सकारात्मक नै हुने बताउँछन्। ‘अब माघदेखि ब्याजदर घट्ने र कसिला नीतिहरु पनि खुकुलो हुँदै जानेछ’, उनले भने, ‘त्यसैले बजारले गति लिने देखिन्छ।’
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago