काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज ३३.९७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८७६.४१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ६.०४ अंकले घटेर ३६५.८६ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने साढे १ अर्ब रुपैयाँ बढी भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बजारमा आज भारी अंकको गिरावट आउनुमा मुख्य २ वटा कारण रहेको बताउँछन्। ‘नेपाल धितोपत्र बोर्डले आज नयाँ स्टक एक्सचेन्ज, कमोडिटिज एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको छ’, उनले भने, ‘यो पुँजीबजार विकास र विस्तारका लागि सकारात्मक कुरा हो तर यिनै कारणले बजारमा केही दिन नकारात्मक प्रभाव पर्ने पनि देखिन्छ।

ढकालका अनुसार नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स लिनकै लागि बजारमा सक्रिय लगानीकर्ताहरुले पैसा जोहो गर्न थालेका छन्। ‘यही कारणले बजारमा आज गिरावट आएको हो’, उनले भने। 

अर्को कारण भनेको ब्याजदर बढ्नु नै रहेको ढकालको भनाइ छ। ‘असोजबाट बैंकको ब्याजदर बढेको छ, यसले पनि बजार प्रभावित भएको देखिन्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक ३.२४ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ३.०९ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.९४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.५९ प्रतिशत, विकास बैंक समूहमा २.६७ प्रतिशत, वित्त समूहमा २.९३ प्रतिशत, निर्जीवन बीमा समूहमा १.६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.४८ प्रतिशत, लघुवित्त समूहमा १.८ प्रतिशत, जीवन बीमा मूहमा २.४३ प्रतिशत, म्युचुअल फन्ड समूहमा २.१ प्रतिशत र लगानी समूहमा १.८७ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ६२ लाख २९ हजार ४४५ कित्ता सेयर १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५५ रुपैयाँ किनबेच भएका छन्। 

यो दिन लक्ष्मी बैंकको सर्वाधिक २१ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। प्रभु बैंकको संस्थापक सेयरको १९ करोड ५८ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपा टेलिकमको ५ करोड ३४ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ४५ लाख रुपैयाँ, रिडी पावरको ३ करोड ६८ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ४३ लाख रुपैयाँ, अपी पावरको ३ करोड २८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड १५ लाख रुपैयाँ, सिद्धार्थ बैंकको २ करोड ९० लाख रुपैयाँ र एनआईसी एसिया बैंकको २ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज नेपाल ल्युब आयलका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशतले बढेको छ। 

यो दिन बलेफी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।