काठमाण्डौ । सर्वोच्च अदालतमा नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरणकार्य रोक्न परेको रिटमा आज कात्तिक २७ गते सुनुवाइ हुन हुन नसकेपछि ‘हेर्न नभ्याइने’मा राखिएको छ। 

न्यायधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा मनोजकुमार शर्माको संयुक्त इजलासमा आज कात्तिक २७ गते यो मुद्दाको पेसी तोकिएको थियो। तर, न्यायधीशद्वयको अर्को पनि इजलास तोकिएकोले आज पनि यो मुद्दामा बहस गर्न नभ्याइने भएको सर्वोच्च अदालतले जनाएको छ। अब अदालतले यो मुद्दाको सुनुवाइका लागि अर्को मिति तोक्नेछ।

यसअघि गत कात्तिक २२ गते न्यायधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा यो मुद्दा तोकिएको थियो। त्यस दिन पनि यो मुद्दालाई हेर्न नभ्याइनेमा राखिएको थियो। 

अधिवक्ता दीपक विक्रम मिश्रले गत असोज ३१ गते सेबोनले सुरु गरेको व्यापारिक लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए। रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै गत कात्तिक ४ गते न्यायधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाशले व्यापारिक लाइसेन्स वितरणको कार्य तत्काल अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। श्रेष्ठको इजलाशले गत कात्तिक २२ गते दुवै पक्षलाई छलफलका लागि डोकेको थियो। 

अधिवक्ता मिश्रले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई विपक्षी बनाइएको छ। 

सेबोनले गत असोज २ गते नयाँ लाइसेन्स वितरणका लागि आवेदन खुला गरेको थियो। सर्वोच्चको आदेशपछि सेबोनले गत कात्तिक १५ गते सूचना जारी गर्दै लाइसेन्स वितरणको प्रक्रियालाई यथास्थितिमा राख्ने निर्णय गरेको थियो।