काठमाण्डौ । नयाँ आर्र्थिक वर्ष र कारोबार समय दैनिक एकघण्टाको दरले थप गरिएपछिको पहिलो दिन आइतबार पूँजीबजारमा वाणिज्य बैंकहरुका लगानीकर्ता मालामाल बनेका छन् । 

वाणिज्य बैंकको उच्च कारोबारसँगै बजारमा सोही समूहको बर्चश्व कायम रह्यो । यो समूहको सूचकमा पनि ४९.९७ अंकको वृद्धि भयो । 

वाणिज्य बैंकले नै डोहोर्याएको बजार परिसूचक २७.५९ अंकले बढी १७४५.७४ अंकमा पुगेको छ । 

बित्त समूह ५.९२ अंकले बढ्यो भने उत्पादनमूलक ४०.४४ र अन्य समूह २४.८६ अंकले उकालो लाग्यो । बाँकी सबै समूहको सूचकमा रातो पोतियो । 

सबैभन्दा बढी बिमा समूहको सूचक ४८.१८ अंकले ओर्लियो । विकास बैंक समूहमा ३१.९८ अंकको गिरावट देखियो भने जलविद्युत समूह २५.४ र होटल समूह ९.१४ अंकले ओरालो लाग्यो । 

सेन्सेटिभ इण्डेक्स ५.७८ र फ्लोट इण्डेक्स २.३२ अंकले उकालो लागे । 
बजारमा १ सय ३६ कम्पनीको २२ लाख ७२ हजार कित्ता सेयर १ अर्ब ३६ करोडमा किनबेच भयो । 

सबैभन्दा बढी जलविद्युत लगानी तथा विकास कम्पनी लिमीटेडको १२ करोड ७२ लाख बराबरको सेयर किनबेच भयो । 

यसैगरी, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमीटेडको ६ करोड ११ लाख, नेपाल बैंक लिमीटेडको ५ करोड २६ लाख, नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडको ५ करोड २० लाख, नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड १९ लाख, नेपाल बंगलादेश बैंकको ४ करोड ९७ लाख, सनराइज बैंक लिमीटेडको ४ करोड ६० लाख, सिटिजन्स बैंक इन्टरनेशनलको ३ करोड ९७ लाख, मेगा बैंकको ३ करोड ८८ लाख र कृषि विकास बैंकको ३ करोड ८१ लाख रुपैयाँको सेयर किनबेच भयो । 

सबैभन्दा धेरै कारोबार गर्ने उत्कृष्ट १० कम्पनीको सूचिमा ७ स्थानमा वाणिज्य बैंकको कब्जा रह्यो । जलविद्युत समूह, लघुवित्त र बिमा कम्पनीले १÷१ स्थानमा सीमित बन्नुपर्यो ।

आर्थिक वर्ष सकिएपछि गत आबको नाफाबाट लाभांश पाउने आशामा वाणिज्य बैंकतर्फ लगानीकर्ताहरु थुप्रिएका बजार विश्लेषकहरुले बताएका छन् ।