काठमाण्डौ । तीन तहको नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने भनी नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट पास मन्त्रीपरिषद पुगेको संशोधित ‘धितोपत्र व्यवसायी नियमावली, २०६४’ तत्काल स्वीकृत गर्न सेयर लगानीकर्ताहरुले माग गरेका छन्। 

सेयर लगानीकर्ताका संघसंगठनहरु नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। ‘विगत केही समयदेखि विभिन्न चरणमा काम हुँदै अगाडि बढिरहेको पुँजीबजार विकास र विस्तारमा कोशेढुंगा सावित हुने तीन तहको नयाँ ब्रोकर थप गर्ने सम्बन्धमा धितोपत्र बोर्डको सञ्चालक समितिबाट पास भई मन्त्रीपरिषद्मा पुगिसकेको अवस्थामा मन्त्रीपरिषदमा रहेका जिम्मेवार पदाधिकारीबाट सिन्डिकेट प्रथालाई नै निरन्तरता दिने खालका गतिविधि हुन आएको भन्ने बुझिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त प्रक्रिया अगाडि बढ्न नदिन विभिन्न खालका ढिलासुस्ती गरी रोकिएको अवस्थामा ५२ लाख आमलगानीकर्ताको ध्यानाकर्षण भएको छ ।’

खर्बौं पुँजी भएको पुँजीबजारलाई सीमित ब्रोकरबाट लामो समयदेखि सिन्डिकेटको वातावरण तयार गरी बजार विकास र विस्तारमा अवरोध गर्ने कार्य भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ। ‘यो सिन्डिकेटको वातावरणले सेबोनबाट पास भई मन्त्रीपरिषदबाट पास हुने उक्त संशोधित नियमावली ढिलासुस्ती भएकोमा सम्पूर्ण लगानीकर्तामा संशय उत्पन्न भएको छ’, विज्ञप्तिमा भनिएको छ। 

विभिन्न मुलुक जस्तै– भारत, सिंगापुर, बंगलादेश, श्रीलंका, अमेरिकालगायत विश्वभर प्रचलनमा रहेको फ्री इन्ट्री/फ्री एक्जिटको व्यवस्था रहिआएको सन्दर्भमा नेपालमा सिमित ब्रोकर राखी कारोबार भइरहेकोले सेबोनबाट पारित ब्रोकर थपसम्बन्धी कार्य कुनै बहानाबाजी नगरी यथाशीघ्र पारित गर्न विज्ञप्तिमा आग्रह गरिएको छ। ‘यो वा त्यो बहानामा कहीँकतैबाट रोक्न नहुने र रोकिएमा ५२ लाख लगानीकर्ता आन्दोलित हुन बाध्य हुने सेबोनसमक्ष जानकारी गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ।