काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अहिले ब्रोकर हाउसहरुले सञ्चालनमा ल्याउन लागेको नयाँ टीएमएसको परीक्षण सुरु गरेको छ। 

सबैभन्दा पहिले नेप्सेले सेक्योर्ड सेक्युरिटिज (स्टक ब्रोकर नं. ३६) बाट नयाँ टीएमएसको परीक्षण सुरु गरेको हो। ‘अब छिट्टै लगानीकर्ताले नयाँ टीएमएस चलाउन पाउनेछन्’, नेप्से स्रोतले भन्यो। 

नेप्सेबाट ३४ वटा ब्रोकर हाउसले नयाँ टीएमएस सञ्चालनको अनुमति लिएका छन्। तीमध्ये ३३ वटाले श्रीलंकन कम्पनीको र एउटाले भारतीय कम्पनीको टीएमएस सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन्। १६ वटा ब्रोकरले भने पुरानै टीएमएस चलाउने भएका छन्। 

योसँगै सीडीएससीले सेन्ट्रल केवाईसीको पनि परीक्षण सुरु गरिसकेको छ। सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार हाल सेन्ट्रल केवाईसी ३–४ वटा डीपीबाट परीक्षणको काम भइरहेको छ। 

सेन्ट्रल केवाईसीको व्यवस्था पुँजीबजारलाई मुख्य फोकस गरेर ल्याउन लागिएको हो। ‘सेन्ट्रल केवाईसीको व्यवस्था लागू भएपछि लगानीकर्ताले ब्रोकर र डीपीहरुमा केवाईसी फारम भर्दै हिँड्नुपर्ने झन्झट अन्त्य हुनेछ’, न्यौपानेले भने, ‘हाल पुँजीबजारका लागिमात्रै सेन्ट्रल केवाईसीको व्यवस्था ल्याउन लागिएको छ, यसका प्रभावकारिता हेरेर बैंक तथा वित्तीय संस्थाहरुले पनि सेन्ट्रल केवाईसी लागू गर्न सक्छन्।’