– प्रकाश न्यौपाने

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दाहालको नेतृत्वमा बनेको सरकारमा नेकपा एमालेका नेता विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बनेका छन्। उनी तेस्रोपटक अर्थमन्त्री बनेका हुन्। 

पौडेल यसअघि अर्थमन्त्री बन्दा दुवैपटक सेयर बजारले गति लिएको थियो। उनकै कार्यकालमा सेयर बजार हालसम्मकै उच्च विन्दु पनि चुमेको थियो। तर, सरकार परिवर्तनसँगै राष्ट्र बैंकबाट गरिएका विभिन्न नीतिगत व्यवस्थाका कारण पछिल्लो १६ महिनादेखि बजार थला पर्यो। नेप्सेले गत वर्ष भदौ २ गते हालसम्मकै उच्च विन्दु ३१९८ चुमेको थियो। त्यसपछि लगातार बजार खस्न थाल्यो। 

प्रचण्ड नेतृत्वको सरकारमा पौडेल अर्थमन्त्री बन्ने खबरले आज बिहानैदेखि बजारमा बढोत्तरी भएको थियो। उनी अर्थमन्त्री बन्ने लगभग पक्का भएपछि बजार उछालका साथ बन्द भएको छ। 

अब पौडेलले सेयर बजारको विकास र सुधारका लागि काम गर्नेमा लगानीकर्ताहरु आशावादी देखिन्छन्। 

बजारका पुराना लगानीकर्ता दिलेन्द्र पाण्डे बजार विस्तार र सुधारका लागि गर्नुपर्ने रोकिएका कामहरु पौडेल अर्थमन्त्री भएसँगै अगाडि बढ्ने आशा व्यक्त गर्छन्। ‘अहिले बजार घट्नुको मुख्य कारण राष्ट्र बैंकले लिएका नीतिहरु नै हुन्’, उनले भने, ‘अब अर्थमन्त्रीमा पौडेल आएका छन्, यसअघि अर्थमन्त्री हुँदा पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच तालमेल मिलेको थियो। अब फेरि दुवैबीच राम्रो समन्वय हुने र अर्थतन्त्र सुधारका लागि कामहरु हुने आमलगानीकर्ताको अपेक्षा छ।’

आगामी दिनमा तरलता संकट हट्दै जाने र ब्याजदर घट्दै जाने आशा लगानीकर्ताहरुको रहेको पाण्डेले बताउँछन्। ‘यो अवस्थामा सेयर धितो कर्जा पनि सहज रुपमा उपलब्ध हुनेमा हामी आशावादी छौँ’, उनले भने। 

अर्थमन्त्रीले अर्थतन्त्र सुधारका लागि आवश्यक कदम चालेको खण्डमा सेयर बजार बुलिस ट्रेन्डमा जान सक्ने पनि पाण्डेको भनाइ छ। 

अर्का लगानीकर्ता निर्मल रानाभाट लगानीकर्ताको अपेक्षाअनुसार नै अर्थमन्त्री विष्णु पौडेल बनेकाले बजारमा उछाल आएको बताउँछन्। ‘यो बजार बढेर २१०० को विन्दुसम्म पुग्न सक्ने देखिन्छ’, उनले भने। 

रानाभाटले पनि अर्थमन्त्री पौडेलले अब ब्याजदर नियन्त्रण गर्दै सरकारको विकास खर्चमा बढोत्तरीमा ध्यान दिने अपेक्षा रहेको सुनाए। ‘विगतमा पनि पौडेलले अर्थमन्त्री हुँदा वैदेशिक सहयोग भित्र्याउन सफल भएका थिए’, उनले भने, ‘यसपटक पनि वैदेशिक सहयोग भित्र्याउन उनको सक्रियता बढ्ने र यसले समग्र अर्थतन्त्रलाई सबल बनाउने हाम्रो अपेक्षा छ। यसो भएमा अन्य क्षेत्रसँगै सेयर बजारले पनि गति लिन सक्छ।’

सक्रिय लगानीकर्ता निमानन्द कँडेल अर्थमन्त्री पौडेलले तरलता सहज बनाउन राष्ट्र बैंकसँग समन्वय गरी उचित नीति ल्याउन भूमिका खेल्नेमा आफूहरु आशावादी रहेको बताउँछन्। अहिले अड्किएर बसेको नयाँ ब्रोकर र स्टक एक्सचेन्जको लाइसेन्स वितरणको प्रक्रिया पनि अब सुरु हुने कँडेलको विश्वास छ। 

पौडेलले पुँजीबजारमैत्री नीति ल्याउनेमा आमलगानीकर्ता आशावादी रहेको कँडेलको भनाइ छ। ‘बजार तल्लो विन्दुमा रहेको थियो, सकारात्मक खबरको पर्खाइमा थियो’, उनले भने, ‘अर्थमन्त्रीमा पौडेल आएसँगै बजारले माथिल्लो विन्दुको बाटो लिन सक्ने लगानीकर्ताको विश्वास छ।’