काठमाण्डौ । सेयर बजार मंगलबार पनि भारी अंकले उकालो लागेको छ।
आज बजार ५९.८७ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९८३.९५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १०.६ अंकले बढेर ३८६.०५ को विन्दुमा पुगेको छ। कारोबार रकम पौने ४ अर्ब रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल आज बजार बढ्नुमा मुख्य कारण राजनीति नै रहेको बताउँछन्। ‘नयाँ सरकारसँगै बजारमैत्री अर्थमन्त्री आउनु र सरकारको पहिलो बैठकले पुँजीबजारलाई सम्बोधन गर्नु नै बजार बढ्नुका मुख्य कारण हुन्’, उनले भने।
अर्थमन्त्रीले आन्दोलनरत व्यापारीहरुलाई वार्तामा बोलाउनुले पनि बजारमा सकारात्मक प्रभाव परेको हुन सक्ने लम्साल बताउँछन्। ‘लगानीकर्ताहरुमा अर्थमन्त्री र गभर्नरबीचको समन्वय मिल्ने आशाका बीच पनि बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ’, उनले भने।
बजार जानकार दामोदर गजुरेल पनि नयाँ सरकार र अर्थमन्त्री विष्णु पौडेल नै रहेको बताउँछन्। ‘लगानीकर्ता आशावादी बनेपछि नै बजार बढेको हो’, उनले भने।
समग्रमा प्राविधिक रुपमा बजारले सकारात्मक दिशा नै देखाएको गजुरेलको भनाइ छ। ‘माघ महिनामा ब्याजदर घट्ने अनुमानले पनि बजार बढेको हुन सक्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटावटै समूहमा हरियाली छाएको छ। यो दिन लगानी समूह सर्वाधिक ६.४३ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह ४.६८ प्रतिशतले बढ्दा बैंकिङ समूहमा २.६६ प्रतिशत, विकास बैंक समूहमा २.९४ प्रतिशत, वित्त समूहमा ४.३५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ४.२६ प्रतिशत, जीवन बीमा समूहमा ३.९९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.४४ प्रतिशत, लघुवित्त समूहमा १.२।७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.७१ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.७० प्रतिशत, अन्य समूहमा २.५० प्रतिशत र व्यापार समूहमा २.८६ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २६१ कम्पनीका १ करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९९८ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन लक्ष्मी बैंकको सर्वाधिक २० करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको १४ करोड २ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको १२ करोड १४ लाख रुपैयाँ, नबिल बैंकको ११ करोड ३२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १० करोड १२ लाख रुपैयाँ, अपी पावरको ८ करोड ५७ लाख रुपैयाँ, शिवम सिमेन्टको ८ करोड ४० लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ७ करोड ८५ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ७ करोड ८४ लाख रुपैयाँ र रिडी पावरको ६ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ८ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। सिद्धार्थ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स र श्रृजनशील लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा धौलागिरी लघुवित्त, कालिका पावर, तेह्रथुम पावर र निफ्राको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको हो। यो दिन एचआईडीसीएलको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
आज आँधिखोला लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago