– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । करिब २ वर्षको रस्साकस्सीपछि गत मंसिरदेखि ब्रोकर कम्पनीहरुले सञ्चालनमा ल्याउने भनिएको नयाँ टीएमएसको परीक्षण गरिएको थियो। तर, करिब ४ महिना बितिसक्दा पनि ब्रोकरको नयाँ टीएमएस सञ्चालनमा आउने कुनै लक्षण देखिएको छैन। 

२०७७ साल माघ महिनाबाट नेपाल धितोपत्र बोर्ड (सेबोन)का तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको कार्यकालमा ब्रोकरहरुले नयाँ टीएमएस सञ्चालनमा ल्याउन प्रक्रिया अगाडि बढाएका थिए। लामो समय एपीआई पोलिसीका कारण अड्केको नयाँ टीएमएस सञ्चालनका लागि कस्टमाइजेसनको काम हुँदै गरेको स्टक ब्रोकर एसोसियसन अफ नेपालका निर्वतमान अध्यक्ष सन्तोष मैनाली बताउँछन्। गोलमोटल जबाफ दिँदै मैनालीले भने, ‘हामी परीक्षणकै क्रममा छौँ तर सर्वसाधारणका लागि भने केही समय लाग्न सक्छ।’

मनौलीले गत मंसिर महिनामा पनि बिजशालासँग यही कुरा भनेका थिए। 

एक ब्रोकरले भने अहिले टीएमएस सञ्चालन गरिरहेको वाइको कम्पनीले ‘हाकिमहरु’लाई पैसा पेलेर नयाँ टीएमएस सञ्चालनमा ल्याउने प्रक्रिया रोकेका बताए। ‘तत्काल नयाँ टीएमएस सञ्चालनमा आउने सम्भावना छैन’, ती ब्रोकरले भने, ‘अहिले नै एउटै ब्रोकरबाट साढे ३ लाखदेखि ४ लाख रुपैयाँसम्म वाइकोले लिइरहेको छ। नयाँ टीएमएस आएपछि उसको ३३ वटा ब्रोकरबाट प्रतिमहिना १ करोड रुपैयाँभन्दा बढी आम्दानी रोकिन्छ।’

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले ब्रोकरहरुको नयाँ टीएमएस सञ्चालनका लागि आफूहरुका तर्फबाट कुनै काम बाँकी नरहेको दाबी गरे। ‘ब्रोकरले नेप्सेलाई जोड्दिन भन्नेबित्तिकै जोडिदिन्छ’, उनले भने, ‘अब ब्रोकरहरु नै तयार भएर आउनुपर्छ।’

नयाँ टीएमएस ल्याउन नेतृत्व गरेका त्रिशक्ति सेक्युरिटिज (स्टक ब्रोकर नं. ४८) सञ्चालक टंक गौतमले आउँदो आर्थिक वर्षको साउनदेखि नयाँ टीएमएस सञ्चालनमा आउन सक्ने बताए। ‘अहिले परीक्षणकै काम भइरहेको छ’, उनले भने।

नेप्सेबाट हाल ३४ वटा ब्रोकर कम्पनीले नयाँ टीएमएस सञ्चालनको अनुमति पाएका छन्। नासा सेक्युरिटिज (ब्रोकर नं. ५८)ले भारतीय कम्पनीको र अन्य ३३ वटा ब्रोकर कम्पनीले  श्रीलंकन कम्पनीको टीएमएस सञ्चालन ल्याउने तयारी गरिरहेका छन्।