-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । लामो रस्साकस्सीपछि अदालतको आदेशसँगै नेपाल धितोपत्र बोर्डले आजबाट नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि इच्छुकहरुबाट १० दिनको समय दिएर आवेदन मागेको छ । तर नयाँ ब्रोकरको हकमा भने आवेदनको  म्याद यसअघि नै  सकिएकोले पुनः मागिएको छैन । 

धितोपत्र बोर्डका प्रबक्ता मुक्तिबहादुर श्रेष्ठले यसअघि नै आवेदन लिएका ब्रोकरहरुको आजबाट फाइल हेर्न थालिएको जानकारी दिए । बोर्डमा नयाँ ब्रोकर लाइसेन्सका लागि ४६ वटा कम्पनीले आवेदन दिइसकेका छन् । तिनै आवेदनहरुको अध्ययन थालिएको श्रेष्ठको भनाई छ । 

सेबोनले गत असोज २ गते ३० दिनको समय दिएर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो। अन्तिम दिनसम्म ४६ वटा कम्पनीले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका हुन्  ।

सेबोनको संशोधित विनियमावलीअनुसार तीन प्रकारका ब्रोकर लाइसेन्सको अनुमति दिने तयारी गरिएको छ। जसअनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी २० करोड रुपैयाँ कायम गरिएको छ। 

पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी ६० करोड रुपैयाँ र धितोपत्र व्यापारी कम्पनीको चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ कायम गरिएको छ। 

यसैगरी, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीका लागि ४ वटा कम्पनी छन्। जसमा मेगा स्टक मार्केट, हिमालयन सेक्युरिटिज, सेञ्चुरी सेक्युरिटिज र अर्को एउटा कम्पनी रहेको धितोपत्र बोर्डले जनाएको छ। बाँकी ४१ वटाले धितोपत्र दलाल सेवा कम्पनीको लाइसेन्सका लागि आवेदन दिएका छन । 

नेप्सेबाट सिफारिस भई आएका कम्पनीहरुको मापदण्ड पूरा भए वा नभएको अध्ययन गरेरमात्र नयाँ ब्रोकर लाइसेन्सको आवेदन दर्ता गरिएको बोर्डका अधिकारीहरु बताउँछन् । लामो समयदेखि अदालतको आदेशले रोकिएको प्रक्रिया अब अगाडि बढ्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले भने-'अदालतको आदेशपछि सबै फाइलहरु बन्द गरेर राखिएको थियो । आजबाट हाम्रा साथीहरुले हेर्न सुरु गर्नु भएको छ  । फाइलको अध्ययन गर्न हामीलाई एकमहिना जति लाग्ला ।' त्यसपछि आवश्यक मापदण्ड पूरा गरेका कम्पनीहरुलाई जतिसक्दो छिटो लाइसेन्स उपलब्ध गराइने श्रेष्ठले जानकारी दिए । 

उनले प्रक्रिया पूरा नभएका नयाँ ब्रोकर कम्पनीको हकमा परेका आवेदन रद्ध पनि हुनसक्ने बताए । तोकिएको पूँजी नै नपुर्याई आएका फाइलहरु स्वीकृत नहुने उनको दाबी छ ।