काठमाण्डौ । नयाँ वर्ष २०८० सालको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा झिनो गिरावट आएको छ। 

आज बजार २.८० अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९३१.६८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.२६ अंकले घटेर ३६७.७३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम १ अर्ब रुपैयाँ कमको भएको छ। 

सक्रिय लगानीकर्ता महेश रिजाल आज पनि बजारमा प्रफिट बुक भएको बताउँछन्। ‘भोलि पनि प्रफिट बुक हुन सक्छ’, उनले भने, ‘त्यसपछि बजार माथि नै जान्छ।’

लगानीकर्ताहरु कम्पनीहरुको तेस्रो त्रैमासको रिपोर्ट कुरेर बसेको हुन सक्ने पनि रिजालको भनाइ छ। ‘त्यसैले बजारमा आक्रामक खरिद–बिक्री भएको देखिँदैन’, उनले भने, ‘त्यसैले बेच्नेले पनि घटेर बेच्न नचाहेको देखियो।’

आज बजारले १९८० मा प्रतिरोधको सामना गरेको रिजाल बताउँछन्। ‘यो बजार पस्ने राम्रो अवसर पनि हो’, उनले भने, ‘ब्याजदर पनि घट्दैछ।’

अर्का सक्रिय लगानीकर्ता सूर्यनारायण पौडेल पनि लगानीकर्ताहरु तेस्रो त्रैमासको रिपोर्टको प्रतीक्षामा रहेकोले बजारमा ठूलो अंकको घटबढ नभएको बताउँछन्। ‘तेस्रो त्रैमासको रिपोर्ट आएपछि मात्रै बजारको लय तय हुन्छ’, उनले भने। 

आज राम्रा कम्पनीहरुमा भने खरिद बढेको पौडेलको भनाइ छ। ‘हाइड्रोमा पनि चार्म नै छ’, उनले भने। 

पौडेल समग्रमा बजार पोजिटिभ नै रहेको बताउँछन्। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ४ वटामा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ४.६५ प्रतिशतले उकालो लागेको छ। निर्जीवन बीमा समूह ०.२२ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.०१ प्रतिशत र जीवन बीमा समूहमा ०.०९ प्रतिशतको बढोत्तरी भएको छ। 

आज व्यापार समूह सर्वाधिक ०.९८ प्रतिशतले ओरालो लागेको छ। लघुवित्त समूह ०.६६ प्रतिशतले बढ्दा विकास बैंक समूहमा ०.४१ प्रतिशत, वित्त समूहमा ०.५० प्रतिशत, जलविद्युत समूहमा ०.५८ प्रतिशत, लगानी समूहमा ०.३४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५६ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२१ प्रतिशत र अन्य समूहमा ०.४८ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६५ कम्पनीका ३० लाख ५६ हजार ७७५ कित्ता सेयर ९७ करोड ४५ लाख ९९ हजार ६१.५१ रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन सोल्टी होटेलको सर्वाधिक ३ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ३ करोड ६४ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ३ करोड १७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ७९ लाख रुपैयाँ, सगरमाथा जलविद्युतको २ करोड ७२ लाख रुपैयाँ, तारागाउँ रिजेन्स होटेलको २ करोड ४९ लाख रुपैयाँ, निफ्राको २ करोड २१ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको २ करोड १९ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको २ करोड १३ लाख रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको १ करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन ३ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। आदर्श लघुवित्त, मोलुङ हाइड्रोपावर र कालिञ्चोक दर्शनको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। 

आज एसियन हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा ८ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।