– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । स्टक ब्रोकरहरुले नयाँ टीएमएसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट आशयपत्र पाएको करिब १ वर्ष बितिसकेको छ। 

गत वर्ष असार ५ गते ब्रोकरहरुले सेबोनबाट नयाँ टीएमएसका लागि आशयपत्र पाएका थिए। तर, ब्रोकरहरुले ल्याउने भनिएको नयाँ टीएमएस र ‘वीरबलको कथा’ उस्तै–उस्तै भएको छ। 

ब्रोकरहरुले आवेदन दिएपछि करिब १ वर्षपछि सेबोनले एपीआई पोलिसी स्वीकृत गरिदिएको थियो। नयाँ टीएमएसका लागि ब्रोकरहरुले एपीआई पोलिसी लिन पनि ठूलै पापड बेल्नुपरेको थियो। 

धेरै पटक नेप्से र सेबोबीच पत्र आदान–प्रदान भएको थियो भने नेप्सेबाट सेबोनमा पत्र पुग्न नै महिनौँ लाग्ने समस्या पनि थियो। तर, लामो समय र मेहनतपछि ब्रोकरहरुले नयाँ टीएमएस लिनका लागि आशयपत्र पाएका थिए। 

एक ब्रोकर सञ्चालकका अनुसार ३३ वटा ब्रोकरले जनही ११ लाख रुपैयाँको दरले नयाँ टीएमएसका लागि पैसा बुझाएको पनि महिनौँ भइसक्यो। ती ब्रोकरले भने, ‘हाम्रा साथीहरुले न टीएमएस ल्याउन सक्छन् न पैसा नै फिर्ता ल्याउन सक्छन्।’

‘३३ वटा ब्रोकरले ११ लाखको दरले ३ करोड ६३ लाख रुपैयाँ डीजी हबलाई बुझाएका हौँ’,  ती ब्रोकर सञ्चालकले दाबी गर्दै भने, ‘नयाँ टीएमएस पनि नयाँ स्टक एक्सचेन्जसँगै जोडिएको छ। नयाँ स्टक एक्सचेन्ज नआएसम्म नयाँ टीएमएस पनि आउने छाँट देखिँदैन। किनकि नयाँ स्टक एक्सचेन्ज आएपछि पनि नयाँ टीएमएससँगै जोडिनुपर्ने हुन्छ।’

उता सरकारले भने नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया रोकेको छ। योसँगै नयाँ टीएमएस ल्याउन पैसा बुझाइसकेका ब्रोकरहरु थप अन्यौलमा परेका छन्।

स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले नयाँ टीएमएसका लागि ब्रोकरहरुले पैसा दिएको स्वीकार गरेका छन्। ‘हामी प्रयास गर्दैछौँ, जतिसक्दो छिटो नयाँ टीएमएस सञ्चालनमा ल्याउने कोेसिस गर्दैछौँ’, उनले भने।