भरत रानाभाट(अध्यक्ष)स्टक ब्रोकर एसोसिएसन अफ नेपाल-ब्रोकर नम्बर ३५ 
२०७५ सालमा नेप्सेको अनलाइन प्रणाली भित्रिएर पुरानो सिस्टम विस्थापित भएको सालका रुपमा सम्झेको छु । लगानीकर्ताहरुलाई सुखद नरहे तापनि सेयर बजारको इतिहासमा पहिलोपल्ट अनसन बसेको घटना अनौठो रह्यो । व्यवसायिक रुपमा हाम्रो कारोबार सुखद रहेन, यद्यपि नयाँ सालबाट मार्जिन लेण्डिङ्गको लगभग सुरुवात भइनै सक्यो । नियामक र सरकारले समेत पूँजीबजारका समस्याहरुमाथि चासो लिएको भान भइरहेको छ । हामी ब्रोकरहरुले समेत नयाँ प्रडक्टहरु पाउने वातावरण पाएकामा हर्षित छौं । ०७५ साललाई व्यावसायिक रुपमा मैले गुमाएको वर्षका रुपमा सम्झेँ । वर्षको अन्ततिर कारोबार रकमले साथ दिदै राम्रै संकेत गरेजस्तो छ । स्टक डिलर, मार्जिन कारोबार, एडभाइजरी लगायतका सेवा प्रदान गर्ने बाटो खुल्ला भएकाले ०७६ साल एकदमै राम्रो देखेको छु ।

प्रियराज रेग्मी(पूर्व अध्यक्ष) स्टक ब्रोकर एसोसिएसन अफ नेपाल -ब्रोकर नम्बर ५०
बजार सुधारका लागि ०७५ साल नीतिगत प्रयास हुँदाहुँदै पनि उत्साहजनक रहेन । नियामकहरुको भूमिकालाई पास नम्बर मात्र दिन चाहन्छु । नियामकका प्रयास  र प्रयत्न राम्रै रह्यो । नीतिहरुमा अलिक व्यावहारिकपनको खाँचो छ । ग्राउण्ड लेभलबाटै व्यवहारिक परिमार्जनसहित छलफल गरेर मात्र कार्यान्वयनमा जाँदा उत्तम हुन्छ । व्यवसायिक रुपमा ०७५ साल गुमाएको वर्ष रह्यो । ०७६ सालमा समग्र मुलुकको आर्थिक सूचकले फड्को मार्ने आशा लिएको छु । पूँजीबजारका लागि बिदेशी लगानीकर्ताहरुको प्रवेश, लगानीसम्मेलन, मार्जिन लेण्डिङ्ग लगायतले आशावादी वर्ष २०७६ रहनेछ ।

दिनेश शर्मा बिडारी(अध्यक्ष) अनलाइन सेक्युरिटीज प्रा.लि.-ब्रोकर नम्बर ४९
२०७५ सालको उत्तराद्र्धमा उमंग छाएको छ, यद्यपि समग्र वर्ष उत्साहजनक चाहिँ रहेन । अनलाइन कारोबार प्रणाली, मार्जिन कारोबार लगायतमा सकारात्मक कदम नियामकको रह्यो । सेयर लगानीमा पारदर्शिताका लागि प्यान नम्बरको कदम सरकारले लिएकोमा स्वागतयोग्य छ । नियामकका नीतिनिर्देशनहरु चित्तबुझ्दा र समयसान्दर्भिक छन्, जुन नयाँ परिवेशका लागि राम्रो पनि हो । अघिल्लो वर्षको भन्दा कम कमाएको वर्षका रुपमा व्यसाय रह्यो । अब आउने नयाँ साल लगानीमैत्री र उत्साहजनक रहने आशा लिएको छु । सेयर लगानीकर्ताहरुलाई अनलाइन लगइन लिई नेप्सेको अनलाइन कारोबार प्रणालीमा समाहित हुन बिजशालामार्फत आग्रह गर्दछु ।

रामचन्द्र भट्टराई(निर्देशक)ब्रोकर नम्बर ५७
नेप्से इन्डेक्समा भएको निरन्तरको गिरावटले कारोबार सन्तोषजनक रहेन । सरकारका नीति निर्देशन आउँदाआउँदै पनि बजारमा लगानी भित्रिन सकेन । नियामकका केही नीति निर्देशनहरु विवास्पद रहे । व्यवसायिक रुपमा ०७५ साल गुमाएको वर्ष हो । २०७६ सालमा सेयर बजार र व्यवसायमा बढोत्तरी आओस् र नियामकका नीति निर्देशनमा समेत स्पष्टता आओस् भन्ने अपेक्षा गरेको छु ।