काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमीटेडले अनलाइन लाभकर गणना गर्ने सिस्टम लामो समय लगाएर बनाएको छ । सिस्टम बनेसँगै यसलाई सर्वसाधारण लगानीकर्ताका लागि समेत खुल्ला गरिएको छ । 

सोमबार साँझ सिडिएसीले एक विज्ञप्ति सार्वजनिक गर्दै ‘मेरो सेयर’ सफ्टवेयरलाई केही नयाँ सुविधाहरु थप गरी नयाँ प्रविधि तथा डिजाइनमा तयार गरिएको प्रष्ट पारेको हो । 

उसले नयाँ सफ्टवेयरमा हालको ‘मेरो सेयर’ सफ्टवेयरलाई स्तरोन्नति गरिएको तथा लगानीकर्तालाई आफ्नो स्वामित्वमा रहेको धितोपत्रको लागत प्रविष्टि गरी सोको भारित औसत गणना गर्ने व्यवस्था थप गरिएको समेत जनाएको छ । 

हाल यो सफ्टवेयर परीक्षणकै क्रममा रहेको र सो परीक्षणका लागि वास्तविक लगानीकर्ताको समेत आवश्यकता रहेको भन्दै सिडिएससीले सबै लगानीकर्तालाई मेरो सेयरको नयाँ सफ्टवेयर https://meroshare.cdsc.com.np:8443 मा गई यसको प्रयोग गरी सहयोग गरिदिन आह्वान समेत गरेको छ । 

‘लगानीकर्ताको वास्तविक प्रयोगकै आधारमा यस सफ्टवेयरको भार वहन क्षमता परीक्षण हुने तथा कुनै  समस्या रहेको खण्डमा सो समेत पत्ता लाग्ने भएकोले सम्पूर्ण प्रयोगकर्ताहरुलाई यस सफ्टवेयरको भरपूर प्रयोग गरी सोमा देखिएका समस्याहरुको जानकारी हामीलाई गराइदिनुहोला ।’

सिडिएससीले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘समस्याको जानकारी  info@cdsc.com.np तथा support@cdsc.com.np मा समस्याको स्क्रिनसटसहित पठाइदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।’ 

यो सफ्टवेयर अहिले परीक्षणका लागि मात्र उपलब्ध गराएको प्रष्ट पार्दै सिडिएससीले यसमार्फत गरिएका इडीआइएस, माई आस्वा, माई पर्चेज सोर्स, माई बैंक रिक्वेस्ट तथा चेञ्ज पासवर्ड लगायतका फिचर्समा गरिएको काम तथा कारोबार वास्तविक नहुने र कुनै पनि समयमा यस्तो कारोबारको विवरण आफूहरुले हटाउन वा परिवर्तन गर्नसक्ने सिडिएससीको प्रष्टीकरण छ । 

वास्तविक प्रयोगकर्ताका लागि परीक्षण खुल्ला गरी सो क्रममा देखिएका समस्या समाधान गरी यथाशीघ्र यो सफ्टवेयरलाई पूर्ण प्रयोगमा ल्याइने समेत सिडिएसीको भनाई छ । 

सिडिएससीले केही समयअघिदेखि नै यो सुविधा सर्वसाधारण लगानीकर्ताका लागि लञ्च गर्न खोजे पनि डेटा माइग्रेसन र सिस्टम निर्माणसँगै देखिएका समस्याहरु पहिचान र समाधानमा समय लाग्दा केही ढिला हुन पुगेको हो । 

सिडिएस एण्ड क्लियरिङ लिमीटेडले साढे ५ लाख बढीले चलाउने सिस्टमलाई निकै मजबुत बनाउनुपर्ने र त्यति धेरै लगानीकर्ताको डेटाको समेत काम गर्नुपर्ने भएकोले समय लम्बिएको प्रष्ट्याएको छ ।

नेपाल धितोपत्र बोर्डले केही साताअघि ब्रोकर कार्यालयमा स्वयम् उपस्थित भई ल्याप्चे लगाउने व्यवस्था अन्तका लागि अटोमेटिक सिस्टमको विकास गर्न सीडीएससीलाई लिखित निर्देशन दिएको थियो।

स्रोतका अनुसार ‘मेरो सेयर’ पोर्टलको लगइन लिएका सेयर कारोबारीहरुले मात्रै पर्चेज सोर्स खुलाई ब्रोकरको सीएनएसमा आफैंबाट घोषित लाभकर पठाउन पाउनेछन् । तर यसका लागि प्रयोगकर्ताका लागि खुल्ला गरिएको परीक्षणकाल पूरा भएको हुनुपर्नेछ । 

यो व्यवस्थाअन्तर्गत २०७२ पछि डिम्याट भएका सेयरको विवरण अटोमेटिक हुने भए पनि सिस्टममा स्रोत नखुलेको हकमा लगानीकर्ताहरुले कारोबार नम्बर वा रकम घोषणा गर्नुपर्ने हुन्छ ।