काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि बजार दोहोरो अंकले बढ्ने नयाँ उचाइमा पुगेको छ।
आज बजार २०.७१ अंकले बढेर नयाँ उचाइमा पुग्न सफल भएको हो। योसँगै आज नेप्से परिसूचक २७५९.२१ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.४५ अंकले बढेर ४९२.५८ को उचाइमा पुगेको छ। कारोबार रकम पनि साढे ९ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार एवं सरस्वती क्याम्पको एमबीएमका निर्देशक केपी पाण्डे अन्य क्षेत्र सुस्ताउँदा सेयर बजार चम्केको बताउँछन्। ‘अहिले अन्य क्षेत्रमा लगानी गर्ने वातावरण छैन, त्यसैले सेयर बजारमा लगानीकर्ताहरु झुम्मिएका छन्’, उनले भने, ‘त्यही कारणले बजार सकारात्मक बन्दै गएको हो।’
बैंक ब्याजदर घटेरभन्दा पनि अन्य क्षेत्रमा लगानी सुरक्षित नदेखेर लगानीकर्ताहरु सेयर बजारमा धमाधम भित्रिरहेको पाण्डेको तर्क छ।
पाण्डे प्रतिफलको हिसाबले जलविद्युत बढाइलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन्। ‘जलविद्युत दीर्घकालीन लगानीका लागि राम्रै हो’, उनले भने, ‘जलविद्युतको आम्दानी र व्यापार निश्चित हुन्छ।’
अहिलेको अवस्थामा बैंकहरुमा गरिने लगानी पनि सुरक्षित हुने पाण्डेले सुझाव दिए।
सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने आजको बजार बढाइलाई सामान्य रुपमा लिन्छन्। ‘अबको बजेट पुँजी बजारमैत्री आउने आशा लगानीकर्तामा छ’, उनले भने, ‘त्यही भएर हिजोआज बजार सकारात्मक भइरहेको देखिन्छ।’
बजार अझै केही दिन माथि नै जाने सम्भावना रहेको न्यौपानेको अनुमान छ। ‘अझै केही कम्पनीको लाभांश घोषणा हुनै बाँकी छ’, उनले भने, ‘केही राम्रा खबर आएमा ठूला कम्पनीहरुको सेयरभाउ बढ्ने सम्भावना छ, नत्र जलविद्युत र फाइनान्सका सेयर बढ्ने देखिन्छ।’
आगामी दिनमा बजार अब केही करेक्सनका साथ माथि जाने न्यौपाने बताउँछन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा मात्रै रातो पोतिएको छ।
यो दिन जीवन बीमा समूह सर्वाधिक ११८.३९ अंकले उकालो लागेको छ। जलविद्युत समूह ६८.३३ अंकले बढेको आज बैंकिङ समूहमा ९.०३ अंक, व्यापार समूहमा ७.११ अंक, वित्त समूहमा १२.४७ अंक, निर्जीवन बीमा समूहमा ३९.०९ अंक, अन्य समूहमा ५७.६४ अंक, लघुवित्त समूहमा १५.२२ अंक, म्युचुअल फन्ड समूहमा ०.०९ अंक र लगानी समूहमा ०.१४ अंकको बढोत्तरी भएको छ।
आज उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक ४३.५६ अंकको गिरावट आएको छ। होटेल समूह १२.७९ अंकले घट्दा विकास बैंक समूह ०.५५ अंकले ओरालो लागेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २१८ कम्पनीका १ करोड ९० लाख ५६ हजार २३६ कित्ता सेयर ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ६६ करोड १ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको ४२ करोड ६९ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिखर इन्स्योरेन्सको ३१ करोड ७९ लाख रुपैयाँ, अरुण काबेली पावरको २५ करोड १ लाख रुपैयाँ, माथिल्ला तामाकोशीको २१ करोड ५३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १८ करोड ७७ लाख रुपैयाँ, निफ्राको १८ करोड २३ लाख रुपैयाँ, सानिमा बैंकको १८ करोड १८ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको १४ करोड ५६ लाख रुपैयाँ र सूर्या लाइफ इन्स्योरेन्सको १३ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ११ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। रुरु जलविद्युतको सेयरभाउमा १० प्रतिशत तथा समता घरेलु लघुवित्त, राधी विद्युत, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, गुराँस लघुवित्त, वरुण हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, नेपाल फाइनान्स, रिडी हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन मितेरी डेभलपमेन्ट बैंकको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।
आज विशाल बजार कम्पनी, श्री इन्भेस्टमेन्ट फाइनान्स र ज्योति विकास बैंकको सेयभाउ २ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago