काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार बजारले नयाँ उचाइ चुमेको छ।

आज नेप्से परिसूचक ५०.१४ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २९०६.९१ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो। यसअघि गत जेठ २० गते नेप्से परिसूचक २८५६.७७ को विन्दुमा पुगेको थियो। जुन नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु थियो। 

आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.८८ अंकले बढेर ५२१ को उचाइमा पुगेको छ। 

कारोबार रकमले पनि आज नयाँ कीर्तिमान बनाएको छ। आज हालसम्मकै सर्वाधिक १७ अर्ब २७ करोड रुपैयाँ बढीको कारोबार भएको छ। यसअघि गत जेठ १६ गते १७ अर्ब २ करोड रुपैयाँ बढीको उच्च कारोबार भएको थियो। 

एसियन सेक्युरिटिज बुटवल शाखाका सञ्चालक दीनानाथ शर्मा बैंकिङ सेक्टर चल्न थालेको बजारले थप उचाइ लिनेमा दुईमत नरहेको बताउँछन्। ‘अहिले अधिकांश बैंकहरुको भाउ तलै छ, बैंकहरुमा गरिएको लगानी डबल हुने सम्भावना छ’, उनले भने, ‘बैंकको लगानी सुरक्षित पनि हुन्छ, त्यसैले लगानीकर्ताहरु अहिले बैंकका सेयरहरुमा झुम्मिएको देखिन्छ।’

कारोबार बढ्नुको मुख्य कारण अन्य क्षेत्रको पैसा पनि बजारमा आउनु नै रहेको शर्माको तर्क छ। ‘अहिलेको अवस्थामा दीर्घकालीन लगानी गर्दा उचित हुन्छ’, उनले सुझाव दिए। 

सक्रिय लगानीकर्ता विष्णु भुसाल चौतर्फी सकारात्मक माहौल रहेकै कारण बजार सकारात्मक बन्दै गएको बताउँछन्। ‘अब सानातिना करेक्सनका साथ बजार माथि नै जाने हो’, उनले भने। 

बैंकिङ सेक्टरमा पनि आजबाट उछाल आउन थालेको बजार झनै सकारात्मक बन्ने संकेत मिलेको भुसाल बताउँछन्। ‘आज बैंकहरुको भाउ बढेकै कारण कारोबार र परिसूचक पनि बढ्न पुगेको हो’, उनले भने, ‘आजबाट बैंकमा बुल आएको संकेत मिलेको छ।’

‘अब दसैँसम्म अन्य क्षेत्र चल्ने सम्भावना छैन, त्यसैले सेयर बजारमै लगानी भित्रिने सम्भावना बढी छ’, उनले भने। 

लगानीकर्ताहरुको मनोबल पनि बढ्दै जाँदा बजार बढ्नलाई टेवा पुगेको भुसालको तर्क छ। ‘लगानीकर्ताहरु सेक्टर परिवर्तन गरी लगानी गर्ने र नाफा बुक गर्नेतिर लागेका छन्’, उनले भने, ‘अहिले लगानीकर्ताहरुले प्रतिफलका आधारमा लगानी गरिरहेको देखिन्छ।’

आगामी दिनमा २५ अर्ब रुपैयाँसम्मको कारोबार हुने दिन पक्कै आउने भुसालको भनाइ छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ७ वटा समूहमा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। आज विकास बैंक समूह सर्वाधिक ९६.३१ अंकले उकालो लागेको छ। बैंकिङ समूह ६९.८५ अंकले बढेको आज वित्त समूहमा २७.७२ अंक, अन्य समूहमा ६६.९४ अंक, लघुवित्त समूहमा ४.२८ अंक, म्युचुअल फन्ड समूहमा ०.२४ अंक र लगानी समूहमा ४.०३ अंकको बढोत्तरी भएको छ।

यो दिन जीवन बीमा समूह सर्वाधिक १२५.४ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ८३.३१ अंकले घटेको आज व्यापार समूहमा ४३.२८ अंक, होटेल तथा पर्यटन समूहमा १८.९८ अंक, जलविद्युत समूहमा ४६.८३ अंक र उत्पादन तथा प्रशोधन समूहमा ६७.२८ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१८ कम्पनीका ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक १ अर्ब २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ। निफ्राको ८३ करोड ९० लाख रुपैयाँबराबरको कारोबार भएको आज लुम्बिनी विकास बैंकको ५४ करोड ७५ लाख रुपैयाँ, कुमारी बैंकको ४६ करोड ५७ लाख रुपैयाँ, मेगा बैंकको ४४ करोड ७७ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको ४१ करोड २२ लाख रुपैयाँ, प्रभु बैंकको ३६ करोड ८५ लाख रुपैयाँ, नेपाल बैंकको ३६ करोड ५२ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको ३६ करोड ९ लाख रुपैयाँ र सेञ्चुरी कमर्सियल बैंकको ३४ करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ४ कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। महिला लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक र रिडी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन नेपाल बंगलादेश बैंकको सेयरभाउ पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

यो दिन राधी विद्युत कम्पनीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ९ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।