काठमाण्डौ । नयाँ आर्थिक वर्षको पहिलो दिनको कारोबारमै सेयर बजारमा उछाल आएको छ।

आज आइतबार कारोबार सुरु भएको २ घन्टामै बजार झन्डै ७० अंकले उकालो लागेको छ। यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ६९.२२ अंकले बढेर २९५२.६३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.८४ अंकले बढेर ५५६.२५ को विन्दुमा उक्लिएको छ। कारोबार रकम झन्डै ६ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

अहिलेसम्म नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। जसमध्ये विकास बैंक समूह सर्वाधिक ४.३४ प्रतिशतले उकालो लागेको छ। बैंकिङ समूह पनि ३.७८ प्रतिशतले बढेको छ।

यो अवधिमा मञ्जुश्री फाइनान्सको सर्वाधिक २८ करोड ६८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल र कामना सेवा विकास बैंकको सवा २६ करोड रुपैयाँ बढीको कारोबार भइसकेको छ। 

अहिलेसम्म ङादी ग्रुप पावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। सिद्धार्थ बैंकको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।