काठमाण्डौ । नयाँ आर्थिक वर्षको पहिलो कारोबारमै पनि सेयर बजारमा उछाल आएको छ। योसँगै बजारले नयाँ आर्थिक वर्षलाई हरियो कार्पेट ओछ्याएर स्वागत पनि गरेको छ।
धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ९७.२१ अंकले उकालो लागेको हो। योसँगै परिसूचक २९८०.६१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १९.५५ अंकले बढेर ५६०.९६ को विन्दुमा पुगेको छ। आज कारोबार रकम पौने १२ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार आजको बजार बढाइले नेप्सेले अलटाइम हाई रेकर्ड ब्रेक गर्ने सम्भावना प्रबल बनेको बताउँछन्। ‘अहिलेका नयाँ अर्थमन्त्री पनि सेयर बजारप्रति सकारात्मक नै देखिएका छन्, यसले बजार बढ्न थप मद्दत पुगेको छ’, उनले भने, ‘१२ महिनाको ब्याज तिरेर लगानी गरेको सेयरबाट नाफा खाने समय पनि नजिकिएकोले बजार सकारात्मक बनेको हो।’
गत असारमा बजारमा चलेका हल्ला र प्राविधिक विश्लेषकहरुले देखाएको डरका कारण लगानीकर्ताहरु आत्तिएर सेयर बेच्दा बजारमा लगातार करेक्सन आएको थियो’, उनले भने, ‘अब सबै डरत्रास अन्त्य भएको छ, बजार सकारात्मक नै हुनेमा लगानीकर्ताहरु ढुक्क छन्।’
आज प्रधानमन्त्री शेरबहादुरले संसदबाट विश्वासको मत पाएमा सेयर बजारको बढाइ झनै दिगो हुने रौनियारको भनाइ छ। ‘मौद्रिक नीति पनि बजारअनुकूल नै आउने सम्भावना प्रबल छ’, उनले भने, ‘आज आएको कामना सेवा विकास बैंकको रिपोर्ट उत्कृष्ट रहेकै कारण लगानीकर्ताहरु विकास बैंक र वाणिज्य बैंकहरुमा झुम्मिएका छन्।’
सक्रिय लगानीकर्ता निमानन्द कँडेल आजबाट बजार लयमा फर्किएको बताउँछन्।
ब्याजदर घट्नु, गत आर्थिक वर्षको अन्तिम त्रैमासको रिपोर्ट सार्वजनिक हुन थाल्नु र रिपोर्ट राम्रै आउने सम्भावना रहनु, आजबाट १० पैसाले घटबढ गरेर सेयर कारोबार गर्न पाउनु र नयाँ अर्थमन्त्रीलाई लगानीकर्ताहरुले विश्वास गरेकै कारण बजार सकारात्मक बनेको र सकारात्मक नै रहने कँडेलको ठम्याइ छ। ‘आज बजारको बढाइले पर्ख र हेरको रणनीतिमा बसेका ठूला र संस्थागत लगानीकर्ता पुनः बजार प्रवेश गरेको संकेत पनि मिलेको छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। विकास बैंक समूह सर्वाधिक ५.०५ प्रतिशतले उकालो लागेको छ।बैंकिङ समूह ४.७१ प्रतिशतले बढेको आज वित्त समूहमा १.४ प्रतिशत, होटल तथा पर्यटन समूहमा १.६५ प्रतिशत, जलविद्युत समूहमा १.५७ प्रतिशत, लगानी समूहमा १.६१ प्रतिशत, जीवन बीमा समूहमा ३.८० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.७२ प्रतिशत, लघुवित्त समूहमा ३.५९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ३.३४ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.१५ प्रतिशत, अन्य समूहमा ०.९३ प्रतिशत र व्यापार समूहमा ०.९१ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२१ कम्पनीका २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता सेयर ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४९२.६२ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन मञ्जुश्री फाइनान्सको सर्वाधिक ४० करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ३८ करोड ६३ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको ३७ करोड ६८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३५ करोड ३५ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको ३४ करोड ११ लाख रुपैयाँ, सिद्धार्थ बैंकको २८ करोड ४९ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको २६ करोड ४३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २४ करोड १ लाख रुपैयाँ, सानिमा बैंकको २२ करोड ५८ लाख रुपैयाँ र नेपाल बैंकको २१ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज पाँच कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, ङादी ग्रुप पावर, हिमालयन पावर पाटर्नर र सिंगटी हाइड्रोको सेयरमूल्यका सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको हो। यो दिन सिद्धार्थ बैंकको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।
आज मल्टीपर्पस फिनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ २ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19