काठमाण्डौ । सेयर बजारले मंगलबार फेरि नयाँ कीर्तिमान कायम गरेको छ। 

आज नेप्से परिसूचकले नयाँ कीर्तिमान कायम गरेको हो। नेप्से २९.२३ विन्दुको बढोत्तरीका कारण ३०७९.६६ को नयाँ उचाइमा पुगेको छ। योसँगै नेप्सेले गत असार १० गते कायम गरेको अलटाइम हाई रेकर्ड ब्रेक गरेको छ। गत असार १० गते नेप्से ३०५८.६७ को विन्दुमा पुगेको थियो। जुन हालसम्मकै उच्च थियो।

आज राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.१९ अंकको बढोत्तरीका साथ ५७४.३१ को विन्दुमा उक्लिएको छ। कारोबार रकम सवा १५ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

बजार जानकार प्रेम ओली आजको बजार बढाइले कोभिड महामारीको त्रास बढ्दै गएकोले अन्य क्षेत्रको विकल्पका रुपमा सेयर बजार नै रहेको प्रस्ट देखिएको बताउँछन्। ‘राष्ट्र बैंकको पछिल्लो निर्देशनले बजारलाई खासै प्रभाव पार्दैन बरु थप मजबुत पार्छ’, उनले भने, ‘जसका कारण आज सेयर बजार अन्तिममा आएर बढेको पनि छ।’

ओलीले लगानीकर्ताहरु सेक्टरवाइज लगानी गरिरहेको बताए। ‘जसका कारण बढेको बेला बैंकबाट कमाएको पैसा अहिले जलविद्युत, फाइनान्सजस्ता सेक्टरमा आकर्षित भएका छन्। यी सेक्टरबाट थोरै समयमै पैसा कमाउने धाउन्नमा अल्पकालीन लगानीकर्ताहरु लागेको देखिन्छ।’

यद्यपि लगानीकर्ताहरु पुनः बैंकतिरै फर्किएर आउने ओली दाबी छ। ‘किनकि दीर्घकालीन लगानीका लागि बैंक नै सुरक्षित मानिन्छ नि’, उनले भने।

आजको बढाइले बजारमा लगानीकर्ताहरु थप सक्रिय भएको प्रस्ट भएको ओलीले बताए। ‘किनकि अहिलेको अवस्थामा अन्य क्षेत्रमा लगानी गर्दा जोखिम हुन सक्छ भन्ने लगानीकर्ताहरुलाई परेको छ, त्यही भएर अहिले सेयर बजारमा नयाँ तथा पुराना लगानीकर्ता सक्रिय भएर कारोबार गरिरहेका छन्’, उनले भने, ‘तर सेयर बजारमा अनुमानका भरमा हामफाल्नुभन्दा पनि जोखिम हेरेर लगानी गर्दा उचित हुन्छ।’

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल राष्ट्र बैंकको पछिल्लो निर्देशनले बजारलाई दीर्घकालीन प्रभाव नपार्ने लगानीकर्ताहरुले बुझेकै कारण आज बजार सकारात्मक बनेको बताउँछिन्। ‘राष्ट्र बैंकको निर्देशनले कोभिड प्रभावित व्यवसायीलाई ऋणमा सुविधा दिएको छ’, उनले भने, ‘बैंक तथा वित्तीय संस्थालाई थप मजुबत बनाउने नीति राष्ट्र बैंकले लिएको छ। यसले बजार सकारात्मक नै हुन्छ भन्ने आमलगानीकर्ताले बुझ्न आवश्यक छ।’

पोखरेलले लगानीकर्ताले बजार बढ्नेमात्रै नभएर घट्ने पनि गर्छ भन्ने बुझेर लगानी गर्नु उचित हुने सुझाव दिन्छिन्। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ४.७४ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह ३.७४ प्रतिशतले बढेको आज वित्त समूहमा २.८४ प्रतिशत, अन्य समूहमा २.८३ प्रतिशत, लगानी समूहमा २.८१ प्रतिशत, विकास बैंक समूहमा ०.७५ प्रतिशत, जीवन बीमा समूहमा १.४७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.७० प्रतिशत र निर्जीवन बीमा समूहमा ०.८३ प्रतिशतको बढोत्तरी भएको छ।

यो दिन लघुवित्त समूह सर्वाधिक २.०६ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह ०.३४ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.१७ प्रतिशत र व्यापार समूहमा ०.०६ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका ३ करोड २३ लाख ५५ हजार २६० कित्ता सेयर १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३.०५ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक ४९ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको ४८ करोड ३२ लाख रुपैयाँबराबरको कारोबार भएको आज युनाइटेड मोदी हाइड्रोपावरको ३६ करोड २४ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ३५ करोड २८ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ३४ करोड ७७ लाख रुपैयाँ, नबिल बैंकको ३१ करोड १४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३० करोड ३० लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २९ करोड ३३ लाख रुपैयाँ, नेपाल बैंकको २७ करोड ८३ लाख रुपैयाँ र अरुण काबेली पावरको २६ करोड ४५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज जलविद्युत कम्पनीका सेयरधनीहरुले धेरै कमाएका छन्। यो दिन ११ कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। जसमा ९ वटा जलविद्युत कम्पनी रहेका छन्।  

यो दिन मल्टीपर्पस फिनान्स, खानीखोला हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो, जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशत तथा हिमालय ऊर्जा विकास, जानकी फाइनान्स, युनिभर्सल पावर, हिमालयन पावर पाटर्नर र युनाइटेड इदी मर्दीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। आज सिनर्जी पावर, रिलायन्स फाइनान्स, आँखुखोला जलविद्युतको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। 

आज सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो माइक्रोफाइनान्सको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।