काठमाण्डौ । सेयर बजारले आज मंगलबार नयाँ उचाइ चुमेको छ। 

धितोपत्र कारोबार हुने साताको तेस्रो दिन सेयर बजार २६.०२ अंकले बढेको हो। योसँगै नेप्से परिसूचकले ३१११.०९ को नयाँ उचाइ चुमेको छ। 

यसअघि नेप्से गत साउन १३ गते हालसम्मकै उच्च विन्दु चुमेको थियो। यो दिन नेप्से ३०९४.९५ को विन्दुमा पुगेको थियो। यो रेकर्ड आज ब्रेक भएको छ। 

यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.०६ अंकले बढेर ५७७.५२ को विन्दुमा उक्लिएको छ। कारोबार रकम पनि साढे ११ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार प्रेम ओली आजको बजार बढाइ सकारात्मक नै रहेको बताउँछन्। ‘बजारलाई हेर्दा १२००–१३०० बाट नेप्से ३००० हजार पुग्दा कतिपय लगानीकर्ता प्रोफिट बुक गरिरहेकोले बजारमा थोरै तलमाथि भइरहेको अवस्था थियो, अब लगभग करेक्सनको अवस्था पनि सकियोजस्तो देखियो’, उनले भने।

नेप्से ३१०० माथि पुगेकोले अब बजार लयमा फर्किएको ओलीको भनाइ छ। ‘यो लेबलमा पुग्दा बजारमा २–३ खर्बको कारोबार भइसकेकोले अब बजारले थप गति लिन आधार तयार गरेको देखिन्छ’, उनले भने, ‘मौद्रिक नीति सार्वजनिक भएपछि बजारले नयाँ चरण अर्थात् नेप्से ३५०० सम्म पुग्ने देखिन्छ।’

सक्रिय लगानीकर्ता रघुनाथ अधिकारी लगानीकर्ता मौद्रिक नीतिको पर्खाइमा हो कि भनेजस्तो देखिए पनि आज बजारले नयाँ उचाइ कायम गरेको दृश्यले अब लगानीकर्ता निःशंकोच रुपमा अघि बढेको देखिएको बताउँछन्। ‘आज अधिकांश सूचक उकालो लागेकोले फ्रोफिट बुक गर्न हौसिनेहरु पनि अब रोकिन थालेको देखिन्छ’, उनी भन्छन्, ‘अब छिटै बजारले नयाँ–नयाँ रेकर्ड राख्ने देखिन्छ।’

बुलिस बजारमा लगानीकर्ताले राम्रा प्रतिफल दिन सक्ने र बलिया कम्पनीहरुमा लगानी गर्नु उचित हुने अधिकारीको सुझाव पनि छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ। यो दिन लघुवित्त समूह सर्वाधिक ३.८५ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह २.४७ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.११ प्रतिशत, वित्त समूहमा ०.३९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.३२ प्रतिशत, जलविद्युत समूहमा २.०४ प्रतिशत, लगानी समूहमा ०.१८ प्रतिशत, जीवन बीमा समूहमा ०.६६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६२ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४१ प्रतिशत र अन्य समूहमा १.१७ प्रतिशतको बढोत्तरी भएको छ।

आज म्युचुअल फन्ड समूह सर्वाधिक ०.६५ प्रतिशतले ओरालो लाग्यो भने विकास बैंक समूहमा ०.०५ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४.६६ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन अपी पावरको सर्वाधिक ४६ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। ङादी ग्रुप पावरको ४३ करोड ३२ लाख रुपैयाँबराबरको कारोबार भएको आज फर्स्ट माइक्रोफाइनान्सको ३३ करोड ८६ लाख रुपैयाँ, स्वावलम्बन लघुवित्तको ३० करोड ४ लाख रुपैयाँ, निर्धन उत्थान लघुवित्तको २९ करोड ६६ लाख रुपैयाँ, छिमेक लघुवित्तको २३ करोड ३२ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २३ करोड २३ लाख रुपैयाँ, सिनर्जी पावरको २२ करोड ६४ लाख रुपैयाँ, युनिभर्सल पावरको २१ करोड ३५ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १९ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ७ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। पाँचथर पावर र रुरु जलविद्युतको सेयरमूल्यमा १० प्रतिशत तथा जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी र स्वावलम्बन लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन ग्रिन लाइफ हाइड्रोपावर र अपी पावरको सेयरमूल्यमा ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।

आज युनिलिभर नेपालको सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरमूल्यमा ४ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।