काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार सेयर बजार थप नयाँ उचाइमा पुगेको छ।

आज बजार ०.९४ अंकले बढेर नयाँ उचाइमा पुगेको हो। यो नेप्से परिसूचक ३१६२.५९ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै सर्वाधिक उचाइ हो। 

यसअघि हिजो मंगलबार नेप्सेले हालसम्मकै सर्वाधिक ३१६१.५६ विन्दु चुमेको थियो। जुन रेकर्ड आज तोडिएको छ। 

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने २.३८ अंकले घटेर ५८५.७१ को विन्दुमा झरेको छ। कारोबार रकम पनि घटेर आज साढे १५ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

बजार जानकार गोविन्दप्रसाद घिमिरे आज बजार सामान्य अंकले बढ्नुलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउँछन्। समग्र बजार सिद्धान्तअनुसार नै चलेको उल्लेख गर्दै घिमिरेले चौतर्फी सकारात्मक महौलबीच बजार अगाडि बढिरहेकोले आत्तिनु र मात्तिनुपर्ने अवस्था नरहेको बताए। 

बुलिस बजारमा बैंकहरुको भाउ खासै नबढेकोले लगानीको अवसर रहेको घिमिरे बताउँछन्। ‘यतिबेला बैंकहरुको सेयर सस्तो छ, उठाएर राखेको भविष्यमा राम्रै प्रतिफल प्राप्त गर्न सकिन्छ’, उनले भने।

कतिपय कम्पनीहरुमा जोखिम पनि रहेको सचेत भएर लगानी गर्न घिमिरेले सुझाव दिए। 

अर्का बजार जानकार प्रेम ओली पनि बजार सकारात्मक ढंगले आफ्नै लयमा चलिरहेको बताउँछन्। ‘हकप्रद जारी गर्ने सम्भावनालाई ध्यानमा राखेर लगानीकर्ताहरु जलविद्युतमा आकर्षित भएका छन्’, उनले भने।

बजार केही कमजोर कम्पनीका सेयरभाउ उचालिएकोले सचेत भएर लगानी गर्न पनि ओलीले सुझाव दिए। ‘अहिले बैंकमा गरिएको लगानी सुरक्षित हुन्छ, किनकि बुलिस बजारमा बैंकको भाउ बढिसकेको अवस्था छैन।’

बुलिस बजारलाई अब बैंकले नै लिड गर्ने सम्भावना रहेको ओलीको भनाइ छ। ‘बैंकहरुको मुनाफा पनि राम्रै देखिएको छ, हालसम्म आएका बैंकहरुको रिपोर्टहरु राम्रै छन्’, उनले भने। 

यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामात्रै हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। आज जलविद्युत समूह सर्वाधिक ३.९२ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह २.७८ प्रतिशतले बढेको आज निर्जीवन बीमा समूहमा ०.३ प्रतिशत, लघुवित्त समूहमा ०.१४ प्रतिशत र जीवन बीमा समूहमा ०.०६ प्रतिशतको गिरावट आएको छ। 

आज व्यापार समूह सर्वाधिक १.२५ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह ०.८७ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा ०.६७ प्रतिशत, विकास बैंक समूहमा ०.७६ प्रतिशत, वित्त समूहमा ०.६६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०६ प्रतिशत, अन्य समूहमा ०.५८ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.६१ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनीका २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता सेयर १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ रुपैयाँबराबरको कारोबार भएको छ।

यो दिन माथिल्लो तामाकोशीको सर्वाधिक ६८ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको ५७ करोड ३७ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण काबेली पावरको ५६ करोड १२ लाख रुपैयाँ, अपी पावरको ५३ करोड १७ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको ५१ करोड ६१ लाख रुपैयाँ, एचआईडीसीएलको ३८ करोड ११ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको ३६ करोड ६९ लाख रुपैयाँ, नेपाल बैंकको २८ करोड ८६ लाख रुपैयाँ, फर्स्ट माइक्रोफाइनान्सको २७ करोड ७८ लाख रुपैयाँ र ङादी ग्रुप पावरको २७ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ८ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। आईसीएफसी फाइनान्स, रिडी हाइड्रोपावर, रुरु जलविद्युत, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशत तथा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, अरुण काबेली पावर र नेपाल हाइड्रोको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन राईराङ हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन जानकारी फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ४ प्रतिशत बढीले ओरालो लागेको छ।