काठमाण्डौ । अन्तर्राष्ट्रिय स्तरको सेवा दिंदै आएको नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले संभवत नेपालमै पहिलो पटक ४ सय ग्रामको असामान्य प्रोष्टेटको होल्मियम लेजर प्रविधिबाट सफल शल्यक्रिया गरेका छन् । 
 

नर्भिक हस्पिटलका मूत्ररोग शल्य चिकित्सक डा. भरतबहादुर पाण्डेले झापाको अनारमनी–७ विर्तामोडस्थित कुमार ग्यारेजका प्रोप्राइटर शरदकुमार श्रेष्ठ ४ सय ग्रामको असामान्य प्रोष्टेटको लेजर प्रविधिको प्रयोग गरी सफल शल्यक्रिया गरेका हुन् । 
 

संभवत यति ठूलो प्रोष्टेटको होल्मियम लेजरबाट सफल शल्यक्रिया भएको नेपालकै लागि यो पहिलो हुनसक्ने डा. भण्डारीले दाबी गरेका छन् । 
 

नर्भिक अस्पतालका अनुसार श्रेष्ठ विगत लामो समयदेखि मधुमेह, मुटुको असामान्य गति, उच्च रक्तचापबाट समेत पीडित थिए । ती समस्या निराकरणका लागि विभिन्न अस्पतालमा उपचार गराइरहेकै बेला उनलाई अत्यधिक रुपमा पिसाब पोल्ने समस्याले पिरोलेको थियो । सो समस्या समाधानका लागि आफूले नेपाल लगायत पश्चिम बंगालका धेरै हस्पिटलहरू चाहरेको श्रेष्ठले बताए  । 
 

२०१५ जुलाईबाट भारतको सिलीगुडीमा गएर त्यहाँका अस्पतालहरुमा जाँच गराउँदा पनि रोग पत्ता लागेको थिएन । जनवरी २०१६ मा मात्र बल्लतल्ल सिलीगुडीको नाम चलेको एक अस्पतालले उनको प्रोस्टेटमा पत्थरी वा सानो ट्युमर रहेको हुनसक्ने शंका गर्दै उनलाई या त भारतकै स्तरीय हस्पिटलमा या काठमाडौं जाने सल्लाह दिएपछि उनी काठमाण्डौको नर्भिक आएर भर्ना भएका थिए । 
 

नर्भिकमा एम.आर.आई. गराउँदा उनको प्रोष्टेट ग्रन्थी असामान्य रुपमा बढी ४ सय ग्रामको भएको पाइएको र बिरामीमा देखिएको उच्च रक्तचाप, मधुमेह र मुटुको असामान्य गतिका कारण तत्काल शल्यक्रिया गर्न नसकिएको चिकित्सक भण्डारीले जानकारी दिए । भण्डारीलाई वरिष्ठ चिकित्सक तथा मुटु रोग विशेषज्ञ डा. जयप्रकाश जयसवालले सघाएका थिए । 
 

रक्तचाप लगायतका समस्या नियन्त्रणमा आएपछि श्रेष्ठको प्रोस्टेटको लेजर शल्यक्रिया गत शनिबार चैत्र ०७ गते अढाई घण्टाको समय खर्चिएर सम्पन्न गरिएको हो । निजको शल्यक्रियामा डा. भण्डारीलाई नर्भिकका वरिष्ठ चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. जयप्रकाश जयसवाल र एनेस्थेसियोलोजिष्ट डा. नागेन्द्र के.सी.ले सहयोग गरेका थिए । शल्यक्रिया सफल भएपछि सम्भवतः नेपालमै पहिलो पटक “होल्मियम लेजर” पद्धत्तिबाट त्यसखाले जटिल प्रोस्टेट शल्यक्रिया गर्न पाउँदा आफू खुशी भएको डा. भण्डारीले बताए । 
 

चिकित्सकहरुका अनुसार अमेरिकी युरोलोजी सोसाइटी र युरोपियन युरोलोजी सोसाइटीले पनि सुझाए बमोजिम त्यस्ता खाले असामान्य प्रोस्टेट रोग र अन्य थप जटिल बिरामीहरूमा ओपन शल्यक्रिया नगरी अत्याधुनिक लेजर प्रविधि अपनाउनु उचित हुने हुँदा सन् २०१५ यता यो प्रविधिको उच्चतम प्रयोग हुँदै आएको छ । 
 

नर्भिकको सूचना शाखाका अनुसार उच्च प्रविधि युक्त “होल्मियम लेजर” प्रयोग सम्बन्धी तालिम भारतको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज(एम्स)मा लिएका डा. भण्डारीले सन् २०१० यता नर्भिकमा त्यस्ता असामान्य अवस्थाका प्रोष्टेटको शल्यक्रिया होल्मियम लेजरबाट ८ सय ४० भन्दा बढी सङ्ख्यामा गरिसकेका छन् । परम्परागत चिरफार गरी गरिने शल्यक्रियाको दाँजोमा लेजर शल्यक्रिया अति नै विश्वसनीय, पीडारहित, सुरक्षित, छिट्टै शल्यक्रिया सम्पन्न गर्न सकिने, शल्यक्रियाका लागि रगतको जोहो गर्नु नपर्ने, रोग तथा घाउ चाँडै निको हुन्छ । यस प्रविधिबाट गरिने शल्यक्रियात्मक उपचारपश्चात् बिरामी २–३ दिनमै डिस्चार्ज समेत हुन सक्छन् ।