काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्वस्तरीय सेवा दिने अभियानलाई तीव्रता दिँदै आफ्नो पुरानो आउट पेसेन्ट डिपार्टमेन्ट (ओपीडी) को पुनर्निर्माण गरी अझ स्तरीय र आधुनिक बनाई सेवाहरुलाई डिजिटाइज्ड गरेको छ। विश्वस्तरीय नयाँ ओपीडीको सञ्चालन आज आइतबारदेखि औपचारिक रुपमा थालिएको छ।
स्तरीय र आधुनिक लुक्सबाट सुसज्जित नर्भिकको नयाँ ओपीडीको एक समारोहका बीच आइतबार उद्घाटन गरियो। नर्भिक इन्टरनेशनल हस्पिटलका म्यानेजिङ डिरेक्टर मेघा चौधरीका अनुसार नर्भिकले आफ्नो सम्पूर्ण सेवालाई पूर्ण रुपमा डिजिटाइज्ड गरी अत्याधुनिक बनाउने कामको ओपीडीबाट सुरुवात गरेको हो।
अत्याधुनिक ओपीडीमा आधुनिक लुक्सका साथमा पहिलाभन्दा अझ स्तरीय सेवा, सबै सेवाको पूर्ण डिजीटाइजेसन तथा स्मार्ट स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको व्यवस्था गरिएको छ। अस्पतालमा बिरामीले पैसा तिरेपछि सोहीअनुसारको सेवा पाउन सकुन् भन्ने उद्देश्यले नर्भिकको सेवालाई अत्याधुनिक बनाउने थालनीका रुपमा ओपीडीबाट रेनोभेसनको काम थालिएको एमडी चौधरीले जानकारी दिइन्। ‘अस्पताल हाताभित्र पुग्दा दुर्गन्ध आउने, मानिसहरुको अव्यवस्थित भीडभाड देखिने परम्परावादी दृश्यहरु कसैले देख्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो’, उनले भनिन्, ‘यही उद्देश्यले हामीले कोरोना संक्रमणका कारण चौपट बनेको बिजिनेस लयमा नफर्किएको अवस्थामा समेत बिरामीको हितलाई सर्वोपरी मान्दै यो काम गरेका हौँ।’
अत्याधुनिक ओपीडीमा बिरामीहरुले पट्यारलाग्दो ढंगले पालो कुरिरहनु पर्दैन। आरामदायी ढंगले वातानुकूलित र स्तरीय प्रतीक्षालयमा बसेर आफूले लिएको टोकनसँग सम्बन्धित सूचना डिजिटल डिस्प्लेमा डिस्प्ले भएपछि मात्र बिलिङका लागि जानुपर्ने सुविधा उपलब्ध छ। यस्तै, कुनै डाक्टरको अपोइनमेन्टका लागिसमेत टोकन लिएर आफ्नो नाम डिस्प्लेमा हेर्दै बसे पुग्छ। लाइन लागिरहनुपर्ने वा द्विविधामा हुनुपर्ने समस्या रहन्न।
नर्भिकले प्रत्येक कन्सलट्यान्टहरुसम्म बिरामी पुग्नुभन्दा अगाडि उनीहरुको भाइटल लिनका लागि ३ वटा स्तरीय कोठासमेत त्यहीँ तयार गरेको छ। ओपीडी सेवाको विषयमा कुनै समस्या आए तत्काल समाधान हुने गरी ओपीडी इन्चार्जको रुम पनि सँगै राखिएको छ।
आफ्ना कन्सलट्यान्टको रुमभित्र पस्नुअघि पनि बिरामीले द्विविधामा पर्नुपर्दैन, कारण प्रत्येक कन्सलट्यान्टको रुमको ढोकामै उनीहरुको फोटोसहितको डिजीटल बोर्डसमेत राखिएको छ।
नर्भिकले हाल ओपीडीको मात्र विश्वस्तरीय रुपमा पुननिर्माण र डिजिटाइज्ड गरे पनि यो अभियान जारी राख्ने र अन्य विभाग तथा सम्पूर्ण अस्पताललाई नै यही ढंगले परिवर्तन गरी सेवालाई पूर्ण आधुनिक, समयसापेक्ष र डिजिटाइज्ड बनाउने योजना बनाएको छ।
पूर्ण डिजिटाइज्ड स्वास्थ्य सेवा दिने उद्देश्यले नर्भिकले आफ्नै मोबाइल एप निर्माणको काम पनि अन्तिम चरणमा पुर्याएको छ। त्यसपछि बिरामीहरुले अस्पतालमै पुगेर डाक्टरको समय लिइराख्नुपर्दैन, एपबाटै बुकिङ तथा बिल भुक्तानी गर्न सक्छन्।
अत्याधुनिक र पूर्ण डिजिटाइज्ड ओपीडीको समुद्घाटनपछि नर्भिकका एक्जुकेटिभ डाइरेक्टर राजेन्द्रबहादुर सिंहले देशकै स्तरीय अस्पताललाई अझ स्तरीय बनाइराख्न समयको मागअनुसार पुनर्निर्माण गरिएको बताए। बिरामीको सुविधा नर्भिकको पहिलो प्राथमिकता रहेकोले उनीहरुको सहजताका लागि आफूहरु सदैव कटिबद्ध रहेको समेत उनले प्रस्ट पारे।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago