काठमाण्डौ । पूर्व राजा, रानी र पूर्व अधिराजकुमारीमा कोरोना संक्रमणपछि स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहलाई काठमाण्डौको थापालीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो । 

कोभिड संक्रमण भई निर्मलनिवासमै आइसोलेट भई बसेका तीनैजनाको स्वास्थ्य बिग्रिएपछि चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको पूर्व राजाका संवाद सचिव फणि पाठकले जानकारी दिएका छन् । 

दिउँसो १ बजे पूर्व राजा, रानी र अधिराजकुमारी नर्भिक अस्पताल पुगेका थिए । अस्पतालको ओपिडी अगाडिको खुड्किलो उक्लिने क्रममा पूर्वरानी शाह लड्न खोजेकी थिइन् । यसबाट समेत कोरोना संक्रमणका कारण पूर्व राजा, रानीमा स्वास्थ्य निकै बिग्रिएको अनुमान गर्न सकिने प्रत्यक्षदर्शीहरुले बताएका छन् । 

अस्पतालले भने एक विज्ञप्ति सार्वजनिक गर्दै पूर्व राजा, रानी र अधिराजकुमारीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ । 

भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर पूर्व राजारानी बैशाख ७ गते स्वदेश फर्किएका थिए । त्यसपछि उनीहरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको थियो । हालसम्म घरमै बसे पनि आज एकाएक अस्पताल भर्ना हुनुले उनीहरुको अवस्था बिग्रदै गएको सहजै अनुमान गर्न सकिने अस्पतालस्थित स्रोतहरुले बताएका छन् ।