काठमाण्डौ । पदबहालीलगत्तै नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महत र गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ।
पदबहाली र कर्मचारीलाई निर्देशनसँगै अर्थ मन्त्रालयमा अर्थमन्त्री महत र गभर्नर अधिकारीबीच भेटवार्ता भएको हो। ‘अहिले छलफल भइरहेको छ’, अर्थ स्रोतले भन्यो, ‘अर्थतन्त्रमा देखिएका समस्या सुधारका लागि मिलेर अगाडि बढ्न अर्थमन्त्रीले आग्रह गर्नुभएको छ।’
पछिल्लो समय अर्थमन्त्री र गभर्नरबीच सम्बन्ध बिग्रिँदा आर्थिक नीति र मौद्रिक नीतिबीच तालमेल हुन नसकेको आवाज उठ्दै आएको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीचको तिक्तपूर्ण सम्बन्धका कारण चालु पुँजी कर्जा, ब्याजदरलगायतका विषयले समस्या थप बल्झियो। ‘त्यही कारण नवनियुक्त अर्थमन्त्री महतले गभर्नर अधिकारीसँग मिलेर अगाडि बढ्न सन्देश दिन खोजेको हुन सक्छ’, स्रोत भन्छ।
त्यसअघि पदबहाली गर्दै नवनियुक्त अर्थमन्त्री महतले अर्थतन्त्रलाई गति दिने गरी प्रभावकारी काम गर्ने प्रतिक्रिया दिएका थिए। पत्रकारसँग प्रतिक्रिया दिँदै उनले खर्च कटौती गर्ने दिशामा काम गर्ने बताए। राजस्वको आधार बढाउन सकिएको खण्डमा खर्च गर्ने क्षमता पनि बढाउन सकिने भन्दै महतले अन्तर्राष्ट्रिय लगानी भित्र्याउनका लागि उपयुक्त वातावरण निर्माण गर्ने बताए।
महतले संकटमा रहेको अर्थतन्त्रमा सुधार गर्न आफू जस्तोसुकै कठोर निर्णय गर्न पछि नपर्ने पनि बताए। ‘संकटमा रहेको अर्थतन्त्र बचाउन अर्थमन्त्रीका रुपमा मैले कठोर निर्णय गर्नेछु’ उनले भने, ‘राजस्वले साधारण खर्च पनि पुगेको छैन। साधारण खर्च धेरै छ। यसमा निर्मम हुनै पर्छ। हामी अनिवार्यबाहेकका खर्च कटौती गर्नेछौँ।’
पुँजीगत खर्च बढ्न नसकेको र बजारमा माग घटेकोप्रति चिन्ता व्यक्त गर्दै उनले बजारमा सोचेभन्दा बढी महँगी हुँदा जनता मारमा परेको बताए। ‘अर्थतन्त्र थप खराब हुनबाट रोक्ने गरी निर्णय गर्नेछु’, उनले भने।
लगानीको वातावरण नबन्दासम्म सरकारको राजस्व बढ्न नसक्ने महतको धारणा थियो। ‘देशको अर्थतन्त्र रेमिट्यान्समा आधारित रहेको छ’, उनले भने, ‘सीपमूलक जनशक्ति पलायन भइरहँदा अर्थतन्त्र संकटतर्फ गएको छ।’
अर्थतन्त्रमा सुधार ल्याउन स्वदेशी र विदेशी लागनीको आवश्यकता रहेकोले गैरआवासीय नेपालीलाई लगानी गर्न अर्थमन्त्री महतले आग्रह गरे। सेयर बजार र घर–जग्गाको कारोबार सुस्त भएको भन्दै उनले आफूले टिमवर्क गर्ने र विभिन्न निकायहरुसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता गरे।
पहिलो चरणमा सरकारले नकारात्मक वातावरणलाई अन्त्य गर्ने महतको भनाइ थियो। ‘बैंकको ब्याजदर बढी भयो भन्ने अवस्थालाई अन्त्य गर्नेछु’, उनले भने, ‘ब्याजदर उच्च छ, सेयर बजारमा निराशा छ, उद्योगी–व्यवसायी सबैमा निराशा बढेको छ। सबैको आत्मविश्वास बढाउनुपर्नेछ। त्यसका लागि राष्ट्र बैंकसँग समन्वयन गरी अर्थ मन्त्रालयले सक्रियताको साथ काम गर्छ।’
अर्थमन्त्री महतले निराशमा रहेका व्यवसायीको मनोबल बढाउन नेपाल राष्ट्र बैंकसँग समन्वय गरी काम गर्ने पनि बताए। ‘व्यवसायीमा देखिएको नैराशयता अन्त्य गर्न राष्ट्र बैंकको अहम भूमिका रहेको छ’, उनले भने, ‘त्यसैले अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग समन्वयन गरेर काम गर्नेछ।’
‘लघुवित्त र सहकारी समस्यामा छन्। समस्या समाधानमा राष्ट्र बैंकको अहम् भूमिका हुन्छ’, महतले भने, ‘अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग समन्वय गरी काम गर्न जरुरी छ, अर्थतन्त्रमा रहेका निराशालाई आशामा बदल्नुपर्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago