काठमाण्डौ। नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज दिउँसो पदभार ग्रह गरेका छन्।

पौडेलले सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर अर्थमन्त्रीको पदभार सम्हालेका हुन्। पदभार सम्हाल्ने क्रममा अर्थमन्त्री पौडेलले विश्व बैंकबाट २० करोड अमेरिकी डलर ऋण लिने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्। 

दोस्रोपटक अर्थ मन्त्रालय सम्हाल्ने जिम्मेवारी पाएका पौडेलसहित नवनियुक्त मन्त्रीहरुले आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालको संविधानको धारा ८० बमोजिम आज पद तथा गोपनीयताको शपथ लिएका थिए। राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिनेहरुमा पौडेलसहित शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठ छन्। 

तीनैजना प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा बुधबार मन्त्रीमा नियुक्त भएका हुन्।