काठमाण्डौ । साताको अन्तिम धितोपत्र कारोबार हुने दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले बढेको छ। आज कारोबार रकम भने थोरै घटेको छ।
आज नेप्से परिसूचक १.२९ अंक बढेर १५६२.४६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ अंकको बढोत्तरीका साथ ३१०.०८ को उचाइमा पुगेको छ।
विश्लेषकहरुले दाबी गरेझैँ यो साता सेयर कारोबारमा खासै उत्साह आएन। आज अर्थमन्त्री विष्णु पौडेलको पदभार हुँदा समेत सेयर बजारले बेजोड प्रस्तुतिले स्वागत गरेन।
नवनियुक्त अर्थमन्त्री र सेयर बजारको घनिष्ठ सम्बन्ध हुन्छ। नियामक नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र नेप्से अर्थ मन्त्रालयसँग सम्बन्धित हुन्छन्। अर्थ मन्त्रालयसँग सेयर बजारको सोझो सम्बन्ध हुने गर्दछ।
आजको बजारको परिदृश्य हेर्दा नवनियुक्त अर्थमन्त्रीप्रति सेयर बजार खासै उत्साहित छैन भन्ने अर्थ नै हो। उसो त नेपाली सेयर बजारमा साताको अन्तिम दिन बिहीबार अलिकति बजार बढाएर राख्नुपर्ने मान्यताले समेत झिनो अंकको वृद्धि देखियो। यद्यपि बजारले भने अर्थमन्त्रीलाई झिनो अंकले मात्र भए पनि हरियो कार्पेटले स्वागत गरेको छ।
यसैबीच नजिकिँदै गरेको चाडपर्वका निम्ति खर्च जोहो गर्ने र चाडपर्वपछि मात्र सेयरमा लगानी बढाउने परिपाटी रहेकाले समेत हिजोआज दैनिक कारोबार रकम निरन्तर घट्दै गइरहेको र सक्रिय सेयर कारोबारमा समेत केही संकुचन आएको विश्लेषकहरु बताउँछन्।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ।
यो दिन जलविद्युत् समूहमा सबैभन्दा बढी ७.१ अंकको बढोत्तरी भएको छ। अन्य समूह ६.५५ अंकले बढेको यो दिन बैंकिङ समूह १.९ अंक, व्यापार समूह ३.१९ अंक र म्युुचुअल फन्ड समूह ०.०१ अंकले उकालो लागे।
आज सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहमा २९.५५ अंकको गिरावट आएको छ। निर्जीवन बीमा समूह २४.४२ अंकले घटेको यो दिन होटेल्स् समूह १५.८५ अंक, विकास बैंक समूह ११.१ अंक, वित्त समूह ०.३२ अंक, लघुवित्त समूह १.६ अंक र जीवन बीमा समूह १६.८ अंकले ओरालो लागेका छन्।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १९६ कम्पनीका ४९ लाख ९४ हजार ३६७ कित्ता सेयर १ अर्ब ४२ करोड ५८ लाख ९० हजार ७३८ रुपैयाँमा कारोबार भएको छ।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ७ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम् सिमेन्ट्सको ६ करोड ८४ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको ५ करोड ५५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ४८ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको ३ करोड ७७ लाख रुपैयाँ, अरुण काबेली पावरको ३ करोड ५१ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको ३ करोड ४१ लाख रुपैयाँ, एनसीसी बैंकको ३ करोड १६ लाख रुपैयाँ, कुमारी बैंकको ३ करोड रुपैयाँ र नेपाल बैंकको २ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज नेपाल फाइनान्स र जनरल इन्स्योरेन्सका सेयरधनीहरुले धेरै कमाएका छन्। यी दुवै कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट नै लागेको छ।
यो दिन गुराँस लघुवित्त र आँखुखोला जलविद्युत् कम्पनीका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago