दशकौ वर्षपछि हाम्रो देशले ५ वर्षे स्थायी सरकार पाएको छ । राजनीतिक स्थायीत्वसँगै समृद्ध नेपाल र सुखी नेपाली बनाउने लक्ष्यसहित गठन भएको बहुमतप्राप्त सरकार निश्चय पनि पूँजीबजारप्रति सकारात्मक छ र उसले पूँजीबजारको विकास तथा बिस्तार र लगानीमैत्री र पूर्वाधारमैत्री बनाउने कुराप्रति सतप्रतिशत दायीत्वबोध गर्दै नयाँ इतिहासको सुरुवात हुने कुरामा हामी लगानीकर्ता ढुक्क छौ । आर्थिक समृद्धिको बाटोतर्फ अग्रसर यस सरकारको राष्ट्रिय पूँजी निर्माणमार्फत नै संभव हुने सर्वविदितै छ । राष्ट्रिय पूँजी निर्माणको एक मात्र माध्यम भनेकै पूँजीबजार हो । यसर्थ पनि आज प्रस्तुत हुने नीति तथा कार्यक्रम पूँजीबजारमैत्री हुने आशा गर्न सकिन्छ ।

सरकारले यस क्षेत्रलाई विशेष प्राथमिकताको क्षेत्रमा राखी उत्पादनशील उद्योगधन्दा यसैको माध्यमबाट खोलिने हुँदा यो घरजग्गा, गाडी व्यवसाय भन्दा नितान्त फरक र उत्पादनशील क्षेत्र नै हो भनेर घोषणा गरिनुपर्छ ।

देशले आम नागरिकले गर्व गर्न लायक अर्थमन्त्री पाएको छ । विद्यमान चरम वित्तीय संकटबाट देश र जनतालाई मुक्ति दिलाउने गरी उहाँले समृद्ध नेपालको खाका पक्कै कोरिसक्नुभएको छ भन्ने विश्वास गर्न सकिन्छ । राष्ट्रिय पूँजी निर्माण गर्नैका लागि समेत पहिलो कदमको रुपमा पूँजीबजारलाई देशव्यापी बनाइन आवश्यक छ । यसका लागि केही सीमित सिण्डिकेटधारी दलाल र केही ठूला घराना तथा संस्थाको हातमा मात्र बजारलाई सीमित नराखी देशव्यापी बनाउन आवश्यक छ । देशैभरि शाखा सञ्जाल भएका बैंक तथा बित्तीय संस्थालाई ब्रोकरेज लाइसेन्स दिनुपर्दछ । विद्यमान दलाल कमिसन विश्वकै महंगो भएको हुँदा आउने आर्थिक वर्षबाट नै ०.१५ प्रतिशतमा सीमित गरिनुपर्छ । 

हाम्रो पूँजीबजारमा विदेशी लगानीकर्ताले समेत सहजै प्रवेश गर्न मिल्ने व्यवस्था गरिनुपर्छ । यति हुँदा यति सुन्दर देशमै बसेर अन्य क्षेत्रमा समेत तीव्र लगानी भित्रिनेछ । ठूला संस्थाहरुलाई समेत बजारमा प्रवेश गराइनुपर्छ । जनताको पैसा लिएर जथाभावी कारोबार गर्ने म्युचुअल फण्डहरुलाई विशेष कार्यविधि बनाएर सुशासन कायम गर्दै कस्नुपर्छ । 

नेपाल सरकारबाट नै पूँजीबजार सम्बन्धी सचेतना अभियानलाई देशभरि फैलाइनुपर्छ । पूँजीबजारबाट संकलित राजश्व तथा करबाट उठेको रकम पूँजीबजारकै विकास र बिस्तारमा खर्च गरिनुपर्छ । सरकारले यस क्षेत्रलाई विशेष प्राथमिकताको क्षेत्रमा राखी उत्पादनशील उद्योगधन्दा यसैको माध्यमबाट खोलिने हुँदा यो घरजग्गा, गाडी व्यवसाय भन्दा नितान्त फरक र उत्पादनशील क्षेत्र नै हो भनेर घोषणा गरिनुपर्छ ।

खरबौंको बजारलाई आफूअनुकुल प्रभावित गर्ने जोकोही व्यक्ति वा संस्थालाई हदैसम्मको दण्ड एवम् जरीवाना तथा राम्रो काम गर्नेलाई पुरस्कृत गरिनुपर्छ । अहिलेसम्म १५ लाख मात्र लगानीकर्ता रहेको सन्दर्भमा अब हरेक नेपालीको खाता र हरेक नेपाली सेयरधनी भनेर अर्थमन्त्रीले नै उद्घोष गरिसकेको हुँदा सिंगो देशबासीको बजार बनाउने सन्दर्भमा अबको नीति तथा कार्यक्रमले निश्चय पनि यो कुरालाई समेट्नेछ । विद्यमान लगानीकर्ताले तिर्दै आएको क्यापिटल गेन ट्याक्स नै फाइनल गरेर सरकार अगाडि बढ्नुपर्छ । बाँकी कुरा मौद्रिक नीतिमार्फत सम्बोधन गरिनुपर्छ । 

(लेखक सुवेदी नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष हुन्।)