काठमाण्डौ । नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडले उसको पहिलो म्युचुअल फण्ड नवील ब्यालेन्स फण्ड १ का इकाईधनीहरुलाई रकम लिन बोलाएको छ । 

यो स्किम २०७४ चैत २९ गते परिपक्व भएको थियो । प्रचलित सामूहिक लगानीकोष नियमावली, २०६७ को व्यवस्था तथा नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम खारेजीमा लगिएको र सो योजनाको फिर्ता भुक्तानी रकम प्रचलित कानून बमोजिक कर कट्टा गरी वितरण गर्न लागिएको हो ।

अभौतिक रुपमा इकाई रही हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका इकाईधनीहरुको हकमा भने २०७५ असार २७ गते आइपिएसमार्फत सम्बन्धित इकाईधनीको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा फिर्ता भुक्तानी रकम रकमान्तर गरिएको समेत नवील इन्भेष्टमेन्टले जनाएको छ । 

तर, भौतिक रुपमा इकाई रहेका इकाईधनीहरु तथा हितग्राही खातामा उल्लेखित बैंक खाता नम्बर रुजु नभएका, खाता रहेको बैंकको नाम परिवर्तन भएका, नाम रुजु नभएका तथा अन्य विविध कारणले रकम रकमान्तर हुन नसकेको इकाईधनीहरुको हकमा असार ३१ गतेदेखि नवील इन्भेष्टमेन्ट  बैंकिंग लिमीटेडको नक्साल काठमाण्डौमा चेकमार्फत रकम भुक्तानी गरिने सूचनामा उल्लेख छ ।

इकाईधनीहरुलाई यो स्किमले प्रति इकाईको १७.४६ रुपैयाँको दरले रकम फिर्ता गर्न लागेको हो । नवील इन्भेष्टमेन्ट बैंकले कुल १ अर्ब ३० करोड ९७ लाख ९७ हजार ४ सय ९३.४७ रुपैयाँ इकाईधनीहरुलाई फिर्ता गर्नेछ । 

नवील ब्यालेन्स फण्ड १ पाँचवर्षे बन्दमुखी स्किम रहेको थियो । जुन स्किम ७५ करोडबाट सुरु गरिएको थियो । यो स्किमको प्रवद्र्धक नवील बैंक लिमीटेड तथा योजना व्यवस्थापक नवील इन्भेष्टमेन्ट बैंकिंग लिमीटेड रहेको छ ।