काठमाण्डौ । नेपालमा हालसम्म खुलाइएको म्युचुअल फण्डका सार्वजनिक निश्कासनहरुमध्ये नवील इक्वीटी फण्डले रेकर्ड ब्रेक गरेको छ । 

बैंक तथा बित्तीय संस्थाहरुको सार्वजनिक निश्कासनहरुमा अचाक्ली आवेदन पर्ने गरे पनि म्युचुअल फण्डको विषयमा सर्वसाधारण उति साह्रो जागरुक थिएनन् । 

तर पछिल्लो समय बैंक तथा बित्तीय संस्थाको सेयरमा लगानी गर्नुभन्दा म्युचुअल फण्डको लगानी सुरक्षित भएको तीव्र प्रचार प्रसारको परिणाम नवील इक्वीटी फण्डको आइपीओमा परेको अचाक्ली आवेदनले देखाएको छ । 

सर्वसाधारणका लागि ८५ करोड(कुल १ अर्ब)को सार्वजनिक निश्कासन भएकोमा यो फण्डमा ६ अर्ब ४० करोड भन्दा बढीको आवेदन परेको हो । 

नवील इन्भेष्टमेन्ट बैकिङस्थित स्रोतका अनुसार कम्पनीले माग गरेभन्दा बढी आवेदन परेपछि यो फण्डको आकार समेत २५ प्रतिशतले बढेर एक अर्ब २५ करोड पुग्ने भएको छ । कारण धितोपत्र बोर्डले माग गरिएको भन्दा धेरै आवेदन पर्दा २५ यस्ता कोषहरुलाई प्रतिशतसम्म आकार बढाउन सक्ने सुविधा दिएको छ । 

नवील बैंकको सहायक कम्पनी नवील इन्भेष्टमेन्ट बैकिङको दोश्रो म्युचुअल फण्ड नवील इक्वीटीका लागि १० रुपैयाँ अंकित मूल्यका इकाईमा लगानीकर्ताको उत्साहजनक सहभागिता भएको हो । 

नवील इक्वीटी फण्ड सातवर्षे बन्दमुखी(क्लोज इण्ड)म्यूचुअल फण्डको स्कीम हो । यो म्युचुअल फण्डको स्कीम नवील बैंकको सहायक कम्पनी नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडले व्यवस्थापन गर्नेछ । 

इच्छुक सर्वसाधारणले न्यूनतम १ सयदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको थियो ।

कुल निश्कासन हुने १० करोड इकाई अर्थात कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाईमध्ये कोष प्रवद्र्धक नबील बैंक लिमीटेडका लागि १४ प्रतिशत(१ करोड ४० लाख) इकाई, तथा योजना व्यवस्थापक नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडलाई १ प्रतिशत वा दशलाख इकाई सुरक्षित राखी बाँकी आठ करोड पचास लाख इकाईका लागि सर्वसाधारणले लामो लाइनमै बसेर आवेदन दिएका हुन् ।

नवील बैंकले यसअघि समेत म्युचुअल फण्ड संचालन गरेको थियो । यो बैंकको पहिलो म्युचुअल फण्ड नबील ब्यालेन्स फण्ड १ नेप्सेमा सूचिकृत  छ । यसको अन्तिम प्रति इकाई कारोबार मूल्य २५ रुपैयाँ रहेको छ । नबील ब्यालेन्स फण्ड १ को नेट एसेट भ्यालू रु. २८.२२ रहेको छ, यो भ्यालू साउन अन्तिमसम्मको कारोबारको हिसाबमा निकालिएको हो । 

यसकारण रोजाईमा पर्दैछन् म्युचुअल फण्ड
बैंक तथा बित्तीय संस्थामा लामो टर्ममा पैसा राख्दा जति ब्याज पाइन्छ, त्यस्ता बचतकर्ताले म्युचुअल फण्डमा लगानी गर्दा बढी नाफा प्राप्त गर्छन ।  यसमा सेयर बजारको भन्दा कम जोखिम हुन्छ । सेयर मार्केटमा कतिपय लगानीकर्ता आफैंले सेयर छनौट गर्न नसक्ने खालका हुन्छन् । तर, म्युचुअल फण्डको छनौट चाहि उसले मज्जाले गर्नसक्छ ।

पछिल्लो समय लगानीकर्ताको आकर्षण यस्ता कोषतर्फ तीव्र गतिमा बढिरहेको पाइन्छ । तर, यो चाहि निश्चित भन्न सकिन्न कि सबै म्युचुअल फण्डहरुले सबै लगानीकर्तालाई राम्रै रिटर्न दिन्छन । कतिपय अवस्थामा यस्तो कोषमा गरिएको लगानीबाट घाटा पनि हुनसक्छ । विज्ञहरुले भनेका छन् कि यहीकारण लगानीकर्ताहरुले फण्डको बिषयमा राम्रो जानकारी हासिल गर्न आवश्यक हुन्छ ।