काठमाण्डौ । राष्ट्रको आर्थिक विकासका लागि आफ्नो कार्यकाललाई अधिकतम सदुपयोग गर्दै आफू कार्यरत देशबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी सम्बन्ध विस्तारमा परिणामदायी कार्य गर्ने धारणा जर्मनका लागि नवनियुक्त राजदूत राम काजी खड्काले व्यक्त गरेका छन् । 

राष्ट्रले अघि सारेको रणनीति अनुसार जर्मनीमा रहेर आफूले नवीनतम तवरले आर्थिक कुटनीतिका माध्यमबाट सहयोग गर्ने र सो क्रममा निजी क्षेत्रसँग समेत नजिकमा रहेर कार्य गर्ने विचार उनको छ । महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानसँग आज महासंघ सचिवालयमा भएको भेटवार्तामा जर्मनीका लागि नवनियुक्त राजदूत रामकाजी खड्काले सो कुरा बताएका हुन् ।

नवनियुक्त नेपाली राजदूत राम काजी खड्काले कोभिड–१९ का कारण विश्वको अर्थतन्त्र धारासायी भइरहेको समयमा आफू जिम्मेवारी सम्हाल्दै गरेता पनि आफ्नो तर्फबाट पूर्णरुपमा मुलुकको आर्थिक समृद्धिमा पहल गर्ने र त्यसका लागि निजीक्षेत्रसँग सहकार्य गरेर जाने विश्वास व्यक्त गरे ।

त्यस अघि नवनियुक्त राजदुतको महासंघ सचिवालयमा स्वागत गर्दै महासंघका उपाध्यक्ष प्रधानले आर्थिक व्यवसायिक विकासमा निजी क्षेत्रले स्वदेशमा गरिरहेको प्रयासमा आफू कार्यरत देशमा रहेर सहयोग गर्न राजदूत खड्कालाई आग्रह गरे । नेपाली उत्पादनहरु जुन सम्भावना बोकेका छन् ती उत्पादनहरुको बजारीकरण गरी निर्यात प्रवद्र्धनमा सघाउ पु¥याउन समेत उपाध्यक्ष प्रधानले आग्रह गरे । महासंघको तर्फबाट राजदूतावासले खोजेको सहयोग गर्न महासंघ तयार रहेको पनि उनले बताए ।

कार्यक्रममा महासंघका उपमहानिर्देशक मीना श्रेष्ठको उपस्थिति रहेको थियो ।