काठामाण्डौ । नागबेली लघुवित्त वित्तीय संंस्थाको सञ्चालन मुनाफासँगै अन्य धेरै सूचकमा यस वर्ष भारी गिरावट आएकोे छ । 

कम्पनीको खुद नाफा लगायत धेरै सूचक नकारात्मक बन्दा अवस्था निकै दयनीय रहेको चालू आर्थिक वर्षको पहिलो नौ महिनाको वित्तीय विवरणले देखाएको हो । 

गत वर्षका तुलनामा संंस्थाको नाफामा यस वर्ष उच्च गिरावट आएको  छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा संस्थाको सञ्चालन मुनाफामा ठूलो पहिरो गएको छ । गत वर्ष ४ करोड ४४ लाख रहेको सञ्चालन मूनाफा यस वर्ष २ करोड १३ लाख रुपैयाँमा खुम्चिएको छ । यो गत वर्षको भन्दा करीब १ सय ८ दशलव ५ प्रतिशत कम होे ।

खुद सञ्चालन मुनाफाको असर कम्पनीको खुद नाफामा समेत परेको छ । यस वर्ष कम्पनीको खुद नाफामा समेत करीब ५४ प्रतिशतको भारी गिरावट आएर १ करोड ८३ लाखमा मात्र सीमित भएको छ ।  गत वर्ष संस्थाले २ करोड ८२ लाख खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानीमा समेत भारी गिरावट आएको छ । गत वर्ष ५ करोड ३८ लाख खुद ब्याज आम्दानी गरेकोे संस्थाले यस वर्ष ३ करोड ८३ लाखमात्र खुद ब्याज आम्दानी गर्न सकेको हो । यो गत वर्षको भन्दा करीब ४० प्रतिशत कम हो ।

समीक्षा अवधिसम्म संस्थाले ६७ करोड ६७ लाख कर्जा परिचालन गरेको छ भने २२ करोड २५ लाख निक्षेप संकलन गरेको छ । यी दुवै सूचकमा संस्थाले यसवर्ष क्रमशः ११ दशमलव १८ र ३१ दशमलव २९ प्रतिशतले वृद्धि गरेको हो ।  

गत वर्ष २ दशमलव ४७ प्रतिशत खराब कर्जा रहेको संस्थाको सो सूचक यस वर्ष अझ वृद्धि भई ३ दशमलव ७६ प्रतिशतमा पुगेको छ । बैंक तथा वित्तीय संस्थामा खराब कर्जा अनुपात जति कम भयो, उति राम्रो मानिन्छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ३१ दशमलव ९९ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ५८ दशमलव १३ रुपैयाँ कायम भएको छ ।

गत वर्ष ५ करोड ४ लाख मात्र चुक्तापूँजी रहेको संस्थाले यस वर्ष वृद्धि गरी ७ करोड ६६ लाख पुर्याएको छ । ६ करोड ४५ लाख जगेडाकोषमा रहेको छ ।