काठमाण्डौ । बहुप्रतिक्षित नागरिक स्टक डिलर यही भदौ मसान्तसम्म आउने सम्भावना भएको छ।

कोभिड १९ को महामारी र निषेधाज्ञाले नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलरको पूँजी बजारमा प्रवेश केही समय धकेलिएको हो। नागरिक स्टक डिलरका प्रबन्धक निर्देशक इन्द्र कट्टेलका अनुसार निषेधाज्ञा र सामाजिक दूरी कायम राख्नुपर्ने भएकाले स्टक डिलरको ब्याक अफिस नेप्सेसँग अप्रुभल लिन कठिनाइ रहेकाले डिलरको सेयर बजार प्रवेश केही समय धकेलिएको छ। परिस्थिति र त्रासका कारण प्रक्रिया अघि बढाउन कठिनाइ भएकाले पनि डिलरको बजार प्रवेशको समय लम्बिएको उनको भनाइ छ।

यद्यपि भदौ मसान्तसम्म नियामक नेपाल धितोपत्र बोर्डबाट अनुमति लिने लक्ष्य रहेको प्रबन्धक निर्देशक कट्टेलले जानकारी दिए। यसअघि डिलरले भदौको पहिलो सातादेखि नै सेयर बजार प्रवेश गर्ने बताएको थियो।

स्टक डिलरका रुपमा भित्रिने तरखरमा रहेको नागरिक स्टक डिलरको सीईओ छनोट प्रक्रियाका लागि कमिटी गठन भएको छ। डिलरको सीईओमा ४ जनाको आवेदन परेको जानकारी दिँदै कट्टेलले सीईओ छनोट पनि चाँडै टुंगिने बताए।

नागरिक स्टक डिलरले नेपाल धितोपत्र बोर्डबाट आशयपत्र पाइसकेको छ। डिलरले कार्य सञ्चालनार्थ नयाँबानेश्वरस्थित कृष्ण टावरमा कार्यालयको व्यवस्थापनसमेत पूरा भइसकेको र काजमा कर्मचारीद्वारा कार्यालय व्यवस्थापन भइरहेको जनाएको छ।