काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)ले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

कोषले चौथो त्रैमासम्म ९० करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३६.७४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कोषले ६६ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिसम्म कोषको ब्याज आम्दानी १२.५१ प्रतिशतले बढेर ४० करोड ४९ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ब्याज आम्दानी ३५ करोड ९९ लाख रुपैयाँमा सीमित थियो। 

कोषको सेवा शुल्क तथा कमिसन आम्दानी १ अर्ब ३७ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब २४ करोड रुपैयाँ थियो।

कोषको व्यवस्थापन खर्च बढेर ५१ करोड २३ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष व्यवस्थापन खर्च ५० करोड ७१ लाख रुपैयाँ थियो। 

सेयरपुँजी ५ अर्ब ३१ करोड रुपैयाँ रहेको कोषको सेयर जगेडा कोषमा २२ अर्ब ३६ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष जगेडा कोषमा १९ अर्ब १५ करोड रुपैयाँ थियो। 

कोषको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १७.०८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २०.३० रुपैयाँ थियो। लगानीमा प्रतिफल (आरओई) ८.८७ प्रतिशतबाट बढेर ९.४० प्रतिशत पुगेको छ। कोषको प्रतिसेयर नेटवर्थ १५४.८१ रुपैयाँ रहेको छ।