काठमाण्डौ । नागरिक लगानीकोषले स्टक डिलरको रिहर्सल सुरु गरेको छ । 

ढिलोमा बैशाखदेखि स्टक डिलर खोल्ने तयारीका साथ कोषले रिहर्सलको रुपमा दोश्रो बजारबाट सेयर उठाउन थालेको हो । 

कोषका कार्यकारी निर्देशन रमन नेपालका अनुसार सुरुवाती चरणमा मंगलबारदेखि दोश्रो बजारबाट सेयर खरीदको काम सुरु गरिएको हो । 

‘स्टक डिलरको रिहर्सलको रुपमा हामीले सेयर खरीदको काम सुरु गरेका हौ ।’ नेपालले बिजशालासँग भने–‘दोश्रो बजारमा सेयर खरिदको क्रम जारी राख्छौ र योसँगै सहायक कम्पनी स्थापनाको प्रक्रिया पनि अगाडि बढाउँछौ ।’ 

नागरिक लगानीकोषले छुट्टै सहायक कम्पनी खोलेर त्यसबाट स्टक डिलरको काम गर्ने तयारी थालेको हो । यसका लागि सहायक कम्पनी स्थापनाको प्रक्रिया समेत अगाडि बढाइएको नेपालले जानकारी दिए । 

सहायक कम्पनीलाई धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जबाट स्टक डिलरको काम गर्ने स्वीकृति आएपछि अहिले खरीद गरिएका सेयर र यसअघि नागरिक लगानीकोषको नाममा रहेका सेयरलाई समेत सोही कम्पनीमातहत स्थानान्तरण गरिने उनको भनाई छ । 

‘नागरिक लगानीकोषको अर्को शाखा खोलेर काम गर्दा कहिलेकाही अरु कोषहरुको कारोबारमा असर पर्ने डर भएकाले छुट्टै क्यापिटलसहित सहायक कम्पनी खोलेर एउटा बास्केट फण्ड बनाउँछौ ।’ आफ्नो योजना सुनाउँदै नेपालले भने–‘हाम्रैजस्ता संस्थासँग मिलेर बनाइने बास्केट फण्डबाट सेयर मार्केटमा हुने उतारचढावलाई विश्लेषण गरी कोष परिचालनको काम गरिनेछ ।’ 

स्टक डिलर खोलेर त्यसमातहत रहेको बास्केट फण्डको परिचालन गरी बजारलाई धेरै बढ्न पनि नदिने र साह्रै घट्न पनि नदिने रणनीति अवलम्बन गरिनेछ । ‘लगानीकर्ता निरुत्साहित हुने वातावरण नआओस् भन्नका लागि समेत यो काम गर्नुपर्ने हुन्छ ।’ उनले भने–‘स्टक डिलरमार्फत सेयर बजारप्रति लगानीकर्ताको मनोबललाई बलियो बनाउने हाम्रो उद्देश्य हो ।’  

नेपालका अनुसार सुरुमा सेयर खरीद गर्दा बढी जोखिम नउठाउने रणनीति अवलम्बन गरिनेछ । ‘कम्पनीहरुको राम्रो विश्लेषण गरेर कम जोखिमयुक्त सेयर मात्रै किन्छौ ।’ उनले भने–‘एकदमै सतर्क भएर, भरसक घाटा नहुने गरी सेयर किन्छौ ।’

उनका अनुसार सबै पक्षबाट अपेक्षित सहयोग भए ढिलो बैशाखदेखि नै स्टक डिलर खुलिसक्नेछ । ‘स्टक डिलर खुलिसकेपछि चाहि हामी राम्रै भोल्युममा सेयर उठाउँछौ ।’ उनले थपे–‘पूँजीबजारलाई दिगो बनाउन नागरिक लगानीकोष लाग्यो भन्ने म्यासेज दिन नै अहिले रिहर्सल थालेका हौ ।’