काठमाण्डौ। नाडाको ४५ औँ वार्षिक साधारण सभा तथा निर्वाचन २०७८ साल मंसिर २२ र २३ गते हुने भएको छ। 

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको बैठकले वार्षिक साधारणसभाको मिति तय गरेको हो। सभा होटेल सोल्टीमा सम्पन्न हुनेछ।

नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ। नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एसोसिएसनसमेत गठन गरिसकेको जनाएको छ।

बैठकमा नाडाको ट्राफिक जनचेतनासम्बन्धी कार्यक्रमलाई देशव्यापी बनाउन नाडाका ७ वटा प्रदेशस्तरीय एसोसिएसनका अध्यक्षहरुलाई ट्राफिक ज्याकेटलगायत जनचेतनामूलक स्टिकर र कोभिडविरुद्धको मास्कसमेत हस्तान्तरण गरेको जानकारी गराइयो। नाडाका अनुसार ती सामानहरु नाडाका प्रदेश एसोसिएसनहरुले सम्बन्धित ट्राफिक कार्यालयहरुमार्फत वितरण गर्नेछन्। 

नाडाले गत भदौ २५ गते काठमाण्डौको त्रिपुरेश्वर चोकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहयोग र सहभागितामा त्यस्ता सामानहरु वितरण गरेको थियो।