काठमाण्डौ। नाडाले ट्राफिक प्रहरीलाई ५०० थान फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा आज आयोजित छलफल कार्यक्रमपछि नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले महाशाखाका प्रवक्ता एसपी श्याम अधिकारी ती ज्याकेट हस्तान्तरण गरेका हुन्। ती ज्याकेटका कारण ट्राफिक व्यवस्थापनमा अझै सहज तथा सुरक्षित हुने दुलालले विश्वास व्यक्त गरे। 

विगतमा पनि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरी तथा प्रहरी कार्यालयहरुलाई मोटरसाइकल, कुर्सी, ट्राफिक चिह्न बोर्ड प्रदान गर्दै आएको नाडाले जनाएको छ। नाडाले २०६७ साल देखि नै नाडाको प्रत्येक साधारणसभामा राजधानीका उत्कृष्ट ३ जना ट्राफिक प्रहरीलाई कदरपत्रसहित प्रोत्साहनस्वरुप जनही २५ हजार रुपैयाँ प्रदान गर्दै आएको छ। 

महाशाखामा नाडाका अध्यक्ष दुलालको नेतृत्वमा गएको ६ सदस्यीय प्रतिनिधिमण्डलले प्रवक्ता एसपी अधिकारीसँग राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका समस्याहरु र त्यसको निराकरणहरुबारे छलफल गरेको थियो। 

एसपी अधिकारीले राजधानीको ट्राफिक व्यवस्थापनका लागि नाडासँग मिलेर काम गर्न चाहेको बताए। 

अध्यक्ष दुलालले महाशाखाले राजधानीको ट्राफिक व्यवस्थापनमा देखाएको भूमिकाको प्रशंसा गर्दै यसलाई अझ थप सुधार गर्नुपर्ने खाचो रहेको र नाडा त्यसका लागि सहयोग गर्न तयार रहेको बताए। 

छलफलमा नाडाका उपाध्यक्ष करण चौधरी, उपाध्यक्ष आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंहानियालगायतको उपस्थिति थियो।