काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिरा चौधरीलाई राजधानीको सेन्ट्रल ट्राफिक मोनिटरिङका लागि पाँच थान हाइटेक एडभान्स सीपीयू तथा त्यससँग सम्बन्धित उपकरणहरु हस्तान्तरण गरेको छ। 

नाडाले बुधबार एक कार्यक्रमबीच ती उपकरण प्रदान गरेको हो। त्यसै क्रममा नाडाले १०० थान ट्राफिक रिफलेक्टर ज्याकेट पनि हस्तान्तरण गरेको छ। 

कार्यक्रमममा राजधानीको ट्राफिक व्यवस्थापन तथा पार्किङका सम्बन्धमा के–कसरी अघि बढ्ने भन्ने विषयमा समेत छलफल गरेको छ। 

छलफलमा नाडाका अध्यक्ष थापाले नाडाको सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग प्रदान गरिएको बताए। 

अध्यक्ष थापाले नाडाले राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विगतको समयदेखि विभिन्न भौतिक सहयोग प्रदान गर्दे आएको र यो हस्तान्तरण कार्यक्रम पनि त्यसको निरन्तरता भएको बताए। 

कार्यक्रममा प्रमुख चौधरीले नाडाको उक्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस कार्यालयका लागि नाडाबाट यस किसिमका सहयोग निरन्तर रुपमा प्राप्त भइरहने अपेक्षा राखेको बताए। 

कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्यद्वय प्रकाश कपुरी तथा पुष्कर ओझासमेतको उपस्थिति थियो। ट्राफिक कार्यालयका उच्च अधिकारीहरुसमेतको उपस्थिति रहेको कार्यक्रममा उक्त कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले नाडाका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गरेका थिए।