काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र लुम्बिनी अटोमोवाइल्स एसोसिएसन अफ नेपालको पहलमा बुटवलमा आज शुक्रबार एकदिने कर, भन्सार तथा भीसीटीएसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। 

विश्व भन्सार दिवसका अवसरमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम बुटवलमा सम्पन्न भएको हो। नाडाको संस्थागत सदस्य लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अनुरोधमा यो कार्यक्रम सम्पन्न भएको नाडाले जनाएको छ। 

अटोमोबाइल व्यवसायीहरुले आफ्नो व्यवसाय सञ्चालन गर्ने क्रममा कर, भन्सार तथा भीसीटीएससम्बन्धी यावत समस्याहरु भोग्दै आइरहेको सन्दर्भमा व्यवसायीहरुले कर, भन्सार तथा भीसीटीएससम्बन्धी विद्यमान प्रणालीहरुबारे यथार्थ जानकारी राख्नु अति आवश्यक भएको देखिएकोले यो प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नाडाले जनाएको छ। 

कार्यक्रमका प्रमुख अतिथि तथा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले यस्ता कार्यक्रमहरुले व्यवसायीहरुलाई आवश्यक सूचना तथा जानकारीहरु प्राप्त हुने र व्यवसायीहरुलाई आफ्नो व्यवसाय विस्तार गर्न थप सहजसमेत हुने बताए। त्यही कारण विगत केही वर्ष अघिदेखि विभिन्न प्रदेशहरुमा समेत नाडाले यस्तो कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेको र बाँकी प्रदेशहरुमा पनि सम्पन्न गर्दै जाने उनले जानकारी दिए। 

कार्यक्रमका सभापति तथा लुम्बिनी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष गणेश भट्टराईले नाडाले आफ्ना कार्यक्रमलाई केन्द्रमा मात्रै सीमित नराखी प्रदेशस्तरमा पनि सञ्चालन गरेकोमा धन्यवाद दिए। ‘प्रदेशस्तरमा समेत प्रशिक्षण कार्यक्रम गर्दा अटोमोबाइल्स व्यवसायीहरुको क्षमता अभिबृद्धिमा र करसम्बन्धी जिज्ञासा समाधानमा सहयोग पुगेको छ’, उनले भने, ‘आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दछु।’

भैरहवा भन्सार कार्यालयका प्रमुख मणिराम पौडेल, आन्तरिक राजश्व कार्यालयका प्रमुख धु्रुव पाण्डे, राजश्व अनुसन्धान कार्यालयका प्रमुख राजनकुमार बीसी तथा मुख्य प्रशिक्षक साहिल अग्रवालबाट प्रशिक्षण दिएका थिए। कार्यक्रममा लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालका कूल ५२ सदस्य कम्पनीहरुको उपस्थिति रहेको थियो।