काठमाण्डौ । गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरिएको १० प्रतिशत बोनस सेयरका लागि नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको बुधबार सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नाडेप लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६७६.३६ रुपैयाँ कायम गरेको हो। अब यही सेयरमूल्यमा यो लघुवित्तको सेयर कोरोबारमा आउनेछ। 

लाभांश पारितको मुख्य अजेन्डासहित नाडेप लघुवित्तले यही असोज २८ गते आफ्नो पाँचौँ वार्षिक साधारणसभा डोकेको छ। लाभांश र साधारणसभा प्रयोजनका लागि संस्थाले आज बुधबार (असोज १४ गते) बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज (असोज १३ गते) सम्म कायम सेयरधनीहरुमात्र प्रस्तावित लाभांश पाउन र साधारणसभा भाग लिन योग्य हुनेछन्।

संस्थाले वार्षिक साधारणसभा काठमाण्डौको नागार्जुनस्थित रानीबन पार्टी प्यालेस एन्ड रेस्टुरेन्टमा डोकेको छ। 

सभाले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित लाभांश पारित गर्नेछ। संस्था आर्थिक वर्ष २०७५/७६ का लागि चुक्तापुँजी ३६ करोड८० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ३ करोड ६८ लाख रुपैयाँबराबरको बोनस सेयर र ०.५२ प्रतिशतले हुन आउने १९ लाख ३६ हजार ८४२.११ रुपैयाँ नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ।

बोनस सेय जारी गरेपछि संस्थाको अधिकृत पुँजी ६४ करोड रुपैयाँ, जारी पुँजी ४० करोड ४८ लाख रुपैयाँ र चुक्तापुँजी ४० करोड ४८ लाख रुपैयाँ हुने भएकोले सोहीअनुसार पुँजी संरचनामा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

यसैगरी संस्थाको सेयर संरचना ७०ः३० लाई परिवर्तन गरी ५१ः४९ गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

यही सभामार्फत संस्थाले अन्य वित्तीय संस्थासँग मर्जरको ढोका पनि खुला गर्नेछ। यसका लागि सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय भने सभाले गर्नेछ।