काठमाण्डौ । लगातार घटेको बजारबाट आफ्नो पोर्टफोलियोमा ७० प्रतिशतभन्दा बढीको घाटा व्यहोरेर केही सातादेखि तनावमा रहेका अग्रज लगानीकर्ता नानीबाबु खरेललाई हृदयघात भएको छ । 

शुक्रबार माध्यरातिदेखि नै बानेश्वरस्थित घरमा बसिरहेको बेला उनमा छाति दुख्ने समस्या सुरु भएको थियो । यो समस्या अझ विकराल भएपछि शनिवार बिहान ११ बजे उनलाई गंगालाल हृदयरोग केन्द्र लगिएको थियो । 

केन्द्रका चिकित्सकहरुले उनमा सामान्य खालको हृदयघातको समस्या देखिएको र ओपन हार्ट सर्जरी गर्नुपर्ने सल्लाह दिएका छन् । 

पछिल्लो समय सेयरधनी संघ गठन गरी त्यसको नेतृत्व गरिरहेका ६३ वर्षीय खरेलको आह्वानमा राष्ट्रबैंक, धितोपत्र बोर्ड र अर्थमन्त्रालयको सेयरबजारविरोधी नीतिविरुद्ध आन्दोलन गर्ने भन्दै हिजो(शुक्रबार) काठमाण्डौको भृकुटीमण्डपमा लगानीकर्ताहरु भेला भएका थिए । कार्यक्रम अवधिभर नै नानीबाबु खरेल गम्भीर मुद्रामा देखिएका थिए । 

चार दिनअघि बिजशालासँग कुरा गर्दै उनले आफ्नो पोर्टफोलियो ७० प्रतिशतभन्दा बढी घटेको र अन्य धेरै लगानीकर्ताको पनि यस्तै समस्या रहेको बताएका थिए । 

उनले भनेका थिए–‘कोही साथीहरु ‘आत्महत्या गर्दैछु, म मरेपछि मेरा परिवारलाई हेरविचार गरिदिनु दाई’ भन्दै फोन गर्छन ।’

अस्पतालको इमेरजेन्सीबाट वार्डमा सरेपछि अवस्था केही सामान्य भएका खरेलले बिजशालासँग टेलिफोनमा संक्षिप्त कुरा गर्दै आफ्नो अवस्थामा सुधार भएको र ५ दिनपछि चिकित्सकहरुले ओपन हार्ट सर्जरी गर्नुपर्ने सल्लाह दिएका बताए । ‘मलाई हिजो रातिदेखि नै मुटु हानिरहेको थियो, सहनै नसक्ने भएर आज अस्पताल आएँ । मेरो मुटुको भल्ब नै ब्लक भएको देखियो । ५ दिनपछि अपरेशन गर्नुपर्छ भनिएको छ ।’ उनले भने–‘अपरेशनसम्म अस्पतालमै बस्नुपर्ने भएको छ । अरु त सबै सामान्य छ ।’ 

उनले आफू केही समयअघिदेखि सेयर बजार, यसप्रति राज्यका निकायले लिएका गलत नीतिका कारण समस्यामा परेका साथीहरुको पीडाव्यथाले तनावमा रहेको समेत पुष्टि गरेका छन् । ‘यो सेयर बजार, देशको बिग्रदो अवस्था, यसमा फसेका साथीहरु र आफ्नै पीडाले समेत मलाई तनाव भइरहेको थियो । सायद यही कारण यस्तो भयो ।’–उनले बिजशालासँग भने । 

खरेल विगत १५ वर्षदेखि सेयर बजारमा सक्रिय लगानीकर्ता हुन् । सुरुवातका वर्षहरुमा लङटर्म लगानीकर्ताको रुपमा सफल भएका खरेल पछिल्लो समय पनि ट्रेडर पनि बनेका थिए । ट्रेडमा लाग्दा उनलाई धेरै ठूलो घाटा भएको उनी निकटकाहरुले बताएका छन् ।  

सम्बन्धित समाचारहरु: