काठमाण्डौ । हृदयघातपछि गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएका नेपाल सेयरधनी संघका अध्यक्ष नानीबाबु खरेलको स्वास्थ्य अवस्था अझै जटिल रहेको छ। गत शनिबार खरेललाई हृदयघात भएको थियो। उनीको अझै अस्पतालमै भर्ना भएर उपचार भइरहेको छ। 

स्वास्थ्यमा सुधार नभएपछि अस्पतालमै भर्ना भएर उपचार गराइरहेको खरेलले बताए। बिजशालासँग खरेलले भने, ‘चिकित्सकहरुले स्वास्थ्य अवस्था जटिल नै रहेको बताएका छन्।’

एकातिर स्वास्थ्य अवस्था जटिल रहेको र अर्कोतिर दैनिक ६–७ हजार रुपैयाँको औषधि चढाउनु परिरहेको खरेलले सुनाए। ‘अहिले आर्थिक समस्याले झनै पिरोलेको छ’, उनले भने। 

चिकित्सकले खरेलको मुटुका ३ वटा भल्ब ब्लक भएको र अप्रेसन गर्नुपर्ने पनि हुन सक्ने बताएका छन्। ‘चिकित्सकहरु सकेसम्म औषधिबाटै भल्ब खोल्ने प्रयासमा छन्’, खरेलले भने, ‘नभए अपे्रसन नै गर्नुपर्ने हुन सक्छ पनि भनेका छन्।’

अप्रेसन गर्न समय लाग्ने चिकित्सकले जानकारी गराएको खरेल बताउँछन्। ‘अप्रेसन नै गर्नुपरेमा कात्तिक ९ गतेतिर हुन सक्छ’, उनले भने। 

लगातर सेयर बजार घटेपछि गत शनिबार खरेललाई हृदयघात भएको थियो। पछिल्लो समय ६३ वर्षीय खरेलको आह्वानमा राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालयको सेयर बजार प्रतिकूल नीतिविरुद्ध लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका थिए। केही समय अघिदेखि सेयर बजार, यसप्रति राज्यका निकायले लिएका गलत नीतिका कारण समस्यामा परेका साथीहरुको पीडाव्यथाले आफू तनावमा रहेको उनले बताए। ‘देशको बिग्रिँदो अवस्था, सेयर बजारमा फसेका साथी र मैले भोगेका पीडाले समेत मलाई तनाव भइरहेको छ’, उनले भने, ‘सायद यही कारणले यस्तो भएको हुन सक्छ।’ 

विगत १५ वर्षदेखि खरेलले सेयर बजारमा सक्रिय भएर लागेका छन्। सुरुआतका वर्षमा लङ टर्म लगानीकर्ताका रुपमा सफल भएका खरेल पछिल्लो समय पनि ट्रेडर पनि बनेका थिए।