– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेप्सेमा सूचीकृत भएर सेयर बजारमा कारोबार भइरहेका ४० वटा जलविद्युत कम्पनीमध्ये माउन्टेन इनर्जी नेपाल लिमिटेड पनि एउटा हो। यो कम्पनीमा बैंकर चन्द्रप्रसाद ढकाल समूहको मुख्य लगानी रहेको छ। 

हाल यो कम्पनीको पुँजी १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ रहेको छ। कम्पनीको रिटर्न अन अर्निङ ७० करोड ४२ लाख ९५ हजार रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमै विद्युत बिक्रीको आम्दानी झन्डै ७०० प्रतिशत बढाउँदै ३८ करोड ७१ लाख रुपैयाँ आर्जन गर्न कम्पनी सफल भएको छ। 

पहिलो त्रैमासमा कम्पनीले २९ करोड ३५ लाख रुपैयाँबराबर नाफा आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिमा जम्मा ३ करोड ३१ लाख रुपैयाँमा सीमित थियो। 

कम्पनीको हालको प्रतिसेयर आम्दानी १४.९१ रुपैयाँ रहेको छ भने नेटवर्थ १३५.७९ रुपैयाँ रहेको छ।

प्राविधिक पक्ष

इलिअट वेभका आधारमा 

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।  इलिअट वेभअन्तर्गत इन्टरमिडियट डिग्रीको वेभ (४) पूरा गरेर वेभ (५) चल्दै गरेको देखिन्छ। वेभ (५) भित्र पनि स–साना वेभ हुने भएकोले माइनर तथा मिनेट डिग्रीमार्फत पनि कम्पनीको अवस्था नियाल्न सकिन्छ। जसअन्तर्गत हाल वेभ (i) लगभग १०७० रुपैयाँबाट बढेर १३०० रुपैयाँसम्म पुगेको देखिन्छ भने वेभ (ii) अन्तर्गत केही करेक्सन भएर पुनः ११२७ रुपैयाँसम्म आएको छ। वेभ (iii) मा पुनः बढेर १५०० रुपैयाँसम्म र पुन वेभ (iv) मा करेक्सन भएर १४३० रुपैयाँसम्म आउन सक्छ। यसपछि पुनः वेभ (v) मा बढेर यो कम्पनीको सेयर मूल्य १८०० रुपैयाँसम्म पुग्न सक्छ। (मुख्य तस्बिरमा हेर्नुहोस्) 

बोलिंगर ब्यान्ड, भोलुम, आरएसआई र एमएसीडीका आधारमा 

यो कम्पनीको बोलिंगर ब्यान्डअन्तर्गत मूल्यरेखाले अप्पर ब्यान्डलाई छोएर तल झरेको छ। जुन मध्य ब्यान्डभन्दा माथि नै देखिन्छ (हेर्नुहोस् रातो एरो)। मध्य ब्यान्डमा इन्भर्टेड ह्याम्मर बनेकोले अल्पकालका लागि केही करेक्सनको सम्भावना देखिन्छ। सेयर कारोबारको भोलुम पनि विस्तारै हराउँदै गएको देखिन्छ। 

आरएसआईअन्तर्गत हालको विन्दु न्युट्रल जोन ४८ मा रहेको छ। यसले लगानीकर्ता पर्ख र हेरको अवस्थालाई जनाउँछ। अघिल्लोपटक बढेको अवस्थामा यो विन्दु ५८ सम्म पुगेको देखिन्छ भने न्यून विन्दु ३८ सम्म आएर कम्पनीको सेयरभाउ माथि लागेको  छ। 

एमएसीडीअन्तर्गत सिग्नल लाइन र एमासीडी लाइन नजिक–नजिक भएका छन्। हिस्टोग्राम सकारात्मक भए पनि विस्तारै छोटा–छोटा भएकोले निकट भविश्यमा बियरिस क्रसओभर हुन सक्ने देखिन्छ (हेर्नुहोस् रातो एरो)। यो आधारमा यो कम्पनीको सेयरमूल्य अल्पकालमा केही करेक्सन हुन सक्ने देखिन्छ भने दीर्घकालमा पुनः एकपल्ट नयाँ उचाइ लिन सक्ने देखिन्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– १२९४
  • प्रतिरोध २– १३४९
  • प्रतिरोध ३– १४०४

पिभट प्वइन्ट : १२३९

घटेमा सपोर्ट 

  • सपोर्ट १– ११८४
  • सपोर्ट २– ११२९
  • सपोर्ट ३– १०७४

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै नै भइरहने हुनाले हामीले पनि स्वस्थ आलोचनालाई स्वागत गर्छौं। लगानीकर्ताले आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।