काठमाडौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।
आज बजार ३२.३९ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २७६९.१३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.२५ अंकले घटेर ५२१.१८ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा ६ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार प्रकाश रजौरे केही आन्तरिक सूचना पाउनेहरुले धमाधम सेयर बेच्दा आज बजारमा करेक्सन आएको बताउँछन्। ‘मौद्रिक नीतिको समीक्षा विषयले गर्दा लगानीकर्ताहरु अन्यौलमा परेजस्तो देखिन्छ’, उनले भने, ‘तर मौद्रिक नीतिमा बजारअनुकूलका नीतिगत परिवर्तन भएमा सेयर बजार पुनः उचाइ लिन सक्छ।’
बजारमा बुलिस नै रहेको उल्लेख गर्दै रजौरेले बजारमा उतारचढाव हुनु स्वाभाविक नै भएको बताए। ‘अझै पनि ब्याजदरको प्रतिफलभन्दा सेयर बजारकै प्रतिफल बढी भएकोले राम्रा र बलिया कम्पनीमा लगानी गर्दा राम्रै हुन्छ’, उनले भने।
सक्रिय लगानीकर्ता प्रकाशन न्यौपाने बजारको आजको घटाइलाई स्वाभाविक करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘केही दिनदेखि बढेको बजारबाट लगानीकर्ताहरुले नाफाबुक गर्दा आज करेक्सन आएको हो’, उनले भने।
आगामी दिनमा तरलता पनि बढ्ने र ब्याजदरमा राष्ट्र बैंकले कडाइ गरेका कारण बजार सकारात्मक नै हुने न्यौपानेको तर्क छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ समूहमा रातो पोतिएको छ भने एउटामात्रै हरियाली छाएको छ। यो दिन जलविद्युत समूह सर्वाधिक २.८४ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह २.१७ प्रतिशतले घटेको आज बैंकिङ समूहमा १.२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.५१ प्रतिशत, विकास बैंक समूहमा २.०२ प्रतिशत, वित्त समूहमा १.०३ प्रतिशत, निर्जीवन बीमा समूहमा १.६२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.२ प्रतिशत, लघुवित्त समूहमा ०.१८ प्रतिशत, जीवन बीमा समूहमा १.४८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३६ प्रतिशत र लगानी समूहमा १.६९ प्रतिशतको गिरावट आएको छ।
आज अन्य समूह १.२६ प्रतिशतले उकालो लागेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनी ९८ लाख ६२ हजार ९४० कित्ता सेयर ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २३० रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल टेलिकमको सर्वाधिक ६० करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। महालक्ष्मी विकास बैंकको ५७ करोड २८ लाख रुपैयाँबराबरको कारोबार भएको आज अप्पर तामाकोशीको ३९ करोड ५० लाख रुपैयाँ, नेसनल हाइड्रोको १९ करोड २६ लाख रुपैयाँ, छिमेक लघुवित्तको १७ करोड २९ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको १४ करोड ६३ लाख रुपैयाँ, गरिमा विकास बैंकको १४ करोड रुपैयाँ, नबिल बैंकको १३ करोड ८६ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको १३ करोड ५८ लाख रुपैयाँ र नेपाल बंगलादेश बैंकको ११ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज २ कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। मानुषी लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा तेह्रथुम पावरको १० प्रतिशतको हाराहारीमा वृद्धि पोजिटिभ सर्किट लागेको हो।
आज मैलुङखोला जलविद्युतका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago