काठमाण्डौ । दोश्रो त्रैमासमा वार्षिकीकृत प्रतिसेयर आम्दानी मात्र ७ पैसा रहेको कम्पनी चिन्नु भएको छ ? छैन भने यस्तै धराप कम्पनीको एउटा उदाहरण हो नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमीटेड । यो कम्पनीले शुक्रबार प्रकाशित गरेको दोश्रो त्रैमासको वित्तीय विवरणका अधिकांश सूचक निकै कहालीलाग्दो अवस्थामा छन् । 

अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूदनाफामा भीषण पहिरो गएको छ भने अन्य सूचकको गिरावट समेत उस्तै कहालीलाग्दो छ । 

समीक्षा अवधिमा यो कम्पनीको खूद नाफा १४ हजारमा सीमित भएको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले २५ लाख ७७ हजार नाफा कमाएको थियो । 

यो कम्पनी निकै ठूलो संचालन घाटामा छ । समीक्षा अवधिमा कम्पनी ५६ लाख ७६ हजार संचालन घाटामा रहेको छ । अघिल्लो वर्ष यही अवधिमा १२ लाख ६९ हजार संचालन नाफा थियो ।

अघिल्लो वर्ष १.१७ प्रतिशतमा सीमित निस्क्रिय कर्जा बढेर ३.५५ प्रतिशत पुुगेको छ भने ७.८२ प्रतिशत रहेको कस्ट अफ फण्ड १०.७९ प्रतिशत रहेको छ । यो कम्पनीको सीडी रेसियो ७६६.२४ प्रतिशत रहेको छ । 

अघिल्लो वर्ष ४ लाख ९० हजारले ऋणात्मक रहेको रिजर्बकोषमा चाहि यो कम्पनीले राम्रो प्रगति गरी ११ लाख जम्मा गरेको छ । 

कम्पनीको निक्षेप परिचालन तथा सापटीतर्फको प्रगति चाहि राम्रो छ । समीक्षा अवधिमा कम्पनीले ३ करोड ४८ लाख निक्षेप संकलन गरी तथा १९ करोड ७४ लाख सापटी लिई २६ करोड १८ लाख बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ करोड ६५ लाख निक्षेप संकलन तथा ११ करोड ८१ लाख सापटी लिई १४ करोड ५५ लाख बढी कर्जा परिचालन गरेको थियो ।