काठमाण्डौ । लगानीकर्ताले नाफा सुरक्षित गर्ने होडबाजी चलेसँगै आज मंगलबार पनि नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ।

चालु आर्थिक वर्षको मौद्रिक नीति भएका व्यवस्थाहरुका बारेमा गत शुक्रबार सार्वजनिक हुनुअगावै चुहिएपछि टाठाबाठा लगानीकर्ताले भारी मात्रामा सेयर बजारबाट खरिद गरेका थिए। सोही सेयर हिजो सोमबारबाट क्रमशः तिनै लगानीकर्ताको डिम्याट खातामा आउन थालेपछि बजारमा सेयरको आपूर्ति बढेको देखियो। जसका कारण बजार हिजोदेखि निरन्तर ओरालो यात्रामा छ। 

केही दिनमै नेप्से परिसूचकमा १५० अंक हाराहारीले वृद्धि हुुँदा लगानीकर्ताले १५ देखि २० प्रतिशत नाफा सुरक्षित गर्नतर्फ होडबाजी चलिरहँदासमेत बजारले ओरालो गति तय गरेको हो। विभिन्न ब्रोकर हाउसमा जाँदा लगानीकर्ताहरु खरिदभन्दा पनि बिक्री गर्नेको भीड अचाक्ली लागेको थियो।

लकडाउनपछि गत असार १५ गतेदेखि खुलेको धितोपत्र बजारमा डिम्याट खातामा भएका सेयरमात्र बेच्ने प्रणाली रहेको छ। जसका कारण प्लेज (धितो) मा रहेका सेयरहरु बजारमा आपूर्ति आउन सकिरहेका थिएनन्। तर ब्रोकरहरुले लगानीकर्तालाई धितोमा रहेको सेयर बेच्नुअगावै चेक दिने र बैंकबाट फुकुवा गरेपछि भोलिपल्टै बेच्न दिन थालेकाले समेत केही सातामा वृद्धि भएको नेप्से परिसूचकमा सेयर बिक्रीको आपूर्ति पछिल्लो समय ह्वात्तै बढेको छ। जब कि तिनै ब्रोकरहरु सेयर बिक्रीबापतको रकम बजारबाट अर्बाैं रुपैयाँ उठ्न बाँकी रहेको भन्दै गुनासो गर्थे। 

धितोमा भएका सेयर पनि बेच्न मिल्ने भएपछि पछिल्लो समय दैनिक कारोबार रकममा समेत उल्लेख्य वृद्धि भइरहेको हो।

आज नेप्से परिसूचक १४.९९ अंकको गिरावटसँगै १४४९.९४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीहरुको सेयर सेन्सेटिभ इन्डेक्स२.५६ अंकको गिरावटसँगै ३०७.०५ को विन्दुमा सीमित बनेको छ। 

यो दिन होटेल्स् समूहमा सबैभन्दा धेरै ८२.४५ अंकको उछाल आयो। यस्तै व्यापार समूहमा २१.८४ अंक, उत्पादन तथा प्रशोधन समूहमा ७४.६४ अंक र म्युचुअल फन्ड समूहमा ०.०६ अंकको बढोत्तरी भयो।

आज जीवन बीमा समूहमा सबैभन्दा धेरै १०९.१२ अंकको गिरावट देखियो। बैंकिङ समूहमा २०.७५ अंक, विकास बैंक समूहमा १३.०३ अंक, जलविद्युत् समूहमा २१.४५ अंक, वित्त समूहमा ६.२ अंक, निर्जीवन बीमा समूहमा ३१.१८ अंक, अन्य समूहमा ३.८ अंक र लघुवित्त समूहमा ७.०२ अंकको गिरवाट आयो। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १८५ कम्पनीका ४९ लाख ७६ हजार ४८८ कित्ता सेयर १ अर्ब ८७ करोड २२ ला २० हजार ४४७ रुपैयाँमा कारोबार भयो। 

यो दिन हिमालयन डिस्टिलरीले उच्च कारोबार गर्यो। यो कम्पनीको मात्रै १४ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भयो। 

यसैगरी एनएमबी बैंकको १३ करोड ९७ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ४२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ११ करोड ४४ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १० करोड २६ लाख रुपैयाँ, नबिल बैंकको ६ करोड ३ लाख रुपैयाँ, नेपाल बैंकको ३ करोड ८७ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ३ करोड ८५ लाख रुपैयाँ, एनसीसी बैंकको ३ करोड ६० लाख रुपैयाँ र एभरेस्ट बैंकको ३ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज एनआईसी एसिया लघुवित्त र श्रीराम सुगर मिल्सको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। त्यस्तै आज समृद्धि फाइनान्सको सेयरमूल्य पनि ९ प्रतिशत बढीले वृद्धि भएको छ। 

यो दिन हिमालय दोलखा हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा घटेको छ। आज गुराँस लघुवित्तको सेयरमूल्य पनि ९ प्रतिशतले घटेको छ।