काठमाण्डौ । व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान ललितपुरले विभिन्न किसिमका सीपमूलक तालिम निःशुल्क सञ्चालन गर्ने भएको छ। 

प्रतिष्ठानले अटोमेकानिक्स, मोटरसाइकल मर्मत, इलेक्ट्रिकल, ब्युटिसियन र सिलाइकटाइ तालिम निःशुल्क सञ्चालन गर्ने भएको हो। यी तालिमको अवधि ३९० घन्टाको हुनेछ। 

प्रतिष्ठान यी तालिम लिन इच्छुकहरुका लागि आज भदौ २३ गतेबाट आवेदन खुला गरेको छ। तालिममा सहभागी हुनका लागि आउँदा असोज १२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ। 

यी तालिममा सहभागी हुन कम्तीमा ८ कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। आवेदन दिँदा शैक्षिक योग्यता र नेपाली नागरिकताको प्रतिलिपि राखी पेस गर्नुपर्नेछ।

तालिम लिन इच्छुक उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। प्रशिक्षार्थी छनोट अन्तर्वार्ताबाट गरिनेछ। तालिम अवधिभर खाने र बस्ने व्यवस्था सहभागी आफैँले गर्नुपर्नेछ। 

प्रशिक्षार्थी छनोट समितिले गरेको निर्णयानुसार प्रशिक्षार्थी छनोटको सूचना प्रतिष्ठान कार्यालयको सूचनापाटीमा र वेबसाइटमा प्रकाशित गरिनेछ।