काठमाण्डौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद(सीटीईभीटी)ले छोटो अवधिका लागि निःशुल्क प्राविधिक तालिमहरु सञ्चालन गर्ने भएको छ। 

सीटीईभीटीअन्तर्गतको बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीले मोबाइल फोन रिपेयर टेक्निसियन, कम्प्युटर हार्डवेयर टेक्निसियन र प्रोफेसनल प्लम्बर तालिम सञ्चालन गर्ने भएको हो। यो तालिम सहभागी हुन इच्छुकले भोलि फागुन २२ गतेदेखि चैत ६ गतेभित्र रीतपूर्वक फाराम भरेर आवेदन दिनुपर्नेछ। 

मोबाइल फोन रिपेयर टेक्निसियन र कम्प्युटर हार्डवेयर टेक्निसियनको तालिम अवधि ३९० घन्टाको हुनेछ भने प्रोफेसनल प्लम्बर तालिम अवधि १६९६ घन्टाको हुनेछ। यी तीनै प्रकारका तालिममा २०–२० जनालाई सहभागी गराइनेछ। 

तालिममा सहभागी हुन साधारण लेखपढ गर्न सक्ने भए पुग्छ। कम्तीमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। 

तालिम दैनिक ६ घन्टा सञ्चालन हुनेछ। प्रशिक्षार्थीको छनौट अन्तर्वार्तामार्फत गरिनेछ।